अष्टमीदेखि दशैंको ३ दिन सित्तैमा बस चढ्न पाइने

काठमाडौं,असोज ३०। हिन्दूहरुको महान चाड विजया दशमी २०७५ को अवसरमा नागरिक सहजताको लागि असोज ३१, कार्तिक १ र २ गते गरी ३ दिनका लागि नेपाल प्रहरीले काठमाडौं उपत्यकाभित्र विभिन्न ३ रुटमा निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।

 

निस्शुल्क बस सेवा अन्तर्गत रुट नम्बर १ मा संचालन गरिने बस नक्साल, पुतलीसडक, माईतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सहिदगेट, रत्नपार्क र दरबारमार्ग हुँदै पुनः नक्साल फिर्ता हुने छ ।

 

त्यस्तै रुट नम्बर २ मा संचालन गरिने बस नक्साल मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माईतीघर, त्रिपुरेश्वर, सहिदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै पुनः नक्साल फिर्ता हुने छ ।

 

यसैगरी रुट नम्बर ३ मा संचालन गरिने बस नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, नयाँ बजार, बालाजु चोक, नयाँ बसपार्क, तिलिङगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला र रातोपुल हुँदै पुनस् नक्साल फिर्ता हुने छ ।

 

नागरिकलाई आवागमनमा सजिलोका लागि संचालन गरिएका तीन वटै रुटका बसहरुले बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म तोकिएको रुटमा निरन्तर सेवा प्रदान गर्ने छन् ।