घटस्थापनादेखि असोज ३० गते साँझसम्ममा देशभर २ सय १३ वटा सवारी दुर्घटना ३४ को मृत्यु, १४५ घाइते

काठमाडौं  कार्तिक ०१।  प्रहरी प्रधान कार्यालयबाट प्राप्त तथ्यांकका अनुसार घटस्थापनादेखि असोज ३० गते साँझसम्ममा देशभर २ सय १३ वटा सवारी दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने १४५ जना घाइते हुन पुगेका छन् । तथ्यांक अनुसार यस बीचमा १ सय ५१ वटा सवारी दुर्घटना उपत्यकामा मात्रै भएको छ । उपत्यकामा भएको १ सय ५१ दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् भने ३ जना गम्भीर घाइते बनेका छन् । दुर्घटनामा ९२ जना सामान्य घाइते बनेका छन् ।अधिकांश नेपालीहरुले मनाउने चाड दशैंको मुखमा देशभर सैयौं दुर्घटना भएका हुन।

 

प्राप्ता जानकारी अनुसार ट्राफिकको इटहरी कार्यालय मातहतमा १४ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । त्यसैगरी पथलैया कार्यालय मातहतमा १० वटा सवारी दुर्घटनामा पर्दा ४ जनाले ज्यान गुमाएका छन् । रामनगर कार्यालय मातहत ११ वटा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

 

यता गगौनगौंडा कार्यालय मातहत भएका ९ वटा दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने ८ जना गम्भीर घाइते बनेका छन् । बुटवल क्षेत्रमा १४ वटा सवारी दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका छन् भने १२ जना गम्भीर घाइते बनेका छन् ।

 

कोहलपुरक्षेत्रमा २ वटा सवारी दुर्घटना हुँदा १ जनाले ज्यान गुमाए भने १ जना गम्भीर घाइते बने । यता अत्तरियामा ३ वटा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् ।

 

असोज २४ गतेदेखि गएको ७ दिनमा २ सय १३ वटा दुर्घटनाबाट ३४ जनाले ज्यान गुमाएका छन् भने ५५ जना गम्भीर घाइते बनेका छन् । दुर्घटनामा सामान्य घाइते बन्नेको सङ्ख्या १ सय ४५ जना रहेको छ ।

असोज ३१ गते बुधबार पनि चितवनको कुरिनटारमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते बनेका छन् ।