सात सयभन्दा बढी मुक्त कमैयालाई घरबारका लागि जग्गा उपलब्ध

तुलसीपुर,कात्तिक ४ । दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार एक हजार ४२६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७०५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिनुभएको छ । सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उहाँको भनाइ छ ।

सरकारले निकै ढिलो गतिमा मुक्त कमैया व्यवस्थापन गरिरहेको भन्दै उहाँले अझै तीन हजार ३६५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको बताउनुभयो । मुक्त कमैयाको व्यवस्थापनमा पटक पटक आन्दोलन र दबाब दिँदै आए पनि अपेक्षित प्रगति भने हुन नसकेको बताइएको छ ।रासस