शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण

म्याग्दी,कात्तिक ४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका बासिन्दाले समुदाय स्तरबाट करोडौँ रुपैयाँ सहयोग जुटाएर विद्यालय भवन पुनःनिर्माण गरेका छन् ।

सरकारी निकाय, स्थानीयवासी, प्रवासी र देशका विभिन्न ठाउँमा पुगेका शिखका बासिन्दाको रु तीन करोड २८ लाखको लागतमा १७ कोठे दुई वटा भवन पुनःनिर्माण भएको हो । २०७२ को भूकम्पले चर्काएको र भत्काएको भवन पुनःनिर्माणमा सरकारी निकायको तुलनामा समुदायको लगानी बढी रहेको व्यवस्थापन समितिका अध्यक्ष मीनबहादुर बुद्धुजाले बताउनुभयो ।

 

तत्कालीन जिविस, गाविस र शिक्षा कार्यालयको ६६ लाख, दाताको एक करोड ६६ लाख र समुदायको ९६ लाख रुपैयाँमा विद्यालय भवन नयाँ बनेकोे हो । दुई वटै भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी क्षमताका छन् । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण विद्यालयको पुरानो कक्षा कोठा भवन जीर्ण बनेपछि विद्यार्थी जोखिम मोलेर पढ्दै आएका थिए । गत वर्ष सरकारी निकायको रु ५० लाख अनुदान र समुदायको रु ९० लाखको लागतमा छकोठे भवन निर्माण भएको थियो ।

 

ब्रिटिस गोर्खा वेयलफेयरको रु एक करोड ६६ लाख सहयोगमा यस वर्ष आठकोठे अर्को भवन पुनः निर्माण गरिएको अध्यक्ष बुद्धुजाले बताउनुभयो । गत वर्ष निर्माण भएको आठकोठे भवनमा यसपालि जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको १६ लाख र समुदायको ६ लाख रुपैयाँ बराबरको सहयोगमा तीन वटा कोठा थप गरिएको छ ।

 

पोखरा, काठमाडौं र प्रवासमा रहेका शिखका बासिन्दा तथा पूर्वविद्यार्थीहरुले विद्यालय भवन पुनः निर्माणमा सहयोग गरेका प्रधानाध्यापक केदार कार्कीले बताउनुभयो । कक्षा १२ सम्मको पठनपाठन हुने सो विद्यालयमा १९१ जना विद्यार्थी छन् । रासस