भीरबाट लडेर २ जनाको मृत्यु

दार्चुला, कात्तिक ५ । दार्चुलामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–१ मा पर्ने लुकशैन भन्ने स्थानमा भीरबाट लडेर २ जनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–१ चौडका अन्दाजी ५४ वर्षीय शंकर खडायत रहेका छन् भने अर्को मृतकको अझै परिचय खुल्न सकेको छैन । स्थानीयका अनुसार सोमबार बिहान परिचय नखुलेको मृतक मान्छे दुबै हातमा ढुंगा समातेर एक महिलालाई आक्रमण गर्न आएको थियो ।

 

महिलाले भागेर गाउँले शंकर खडायतलाई घटनाबारे जानकारी गराएपछि लखेट्न जादा आपसी भिडन्तको क्रममा दुबैजनाको भिरबाट लडेर मृत्यु भएको अनुमान गरीएको शैल्यसिखर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

 

मृतक दुबै जना डेढ सय मिटर अग्लो भीरबाट खसेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी नवराज अधिकारी नेतृत्वको टोलीले घटनास्थलको निरिक्षण गरेपश्चात दुबैजनाको सब पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।