नेत्रविक्रम चन्द विप्लव र सिके राउत नेकपाको चियापानमा सबैको आँखा

काठमाण्डु,  कात्तिक १०– सरकार नेतृत्वकर्ता नेकपाले दसैं, तिहार, छठ र नेपाल संवतका अवसरमा शनिबार राजधानीमा चियापानको आयोजना ग-यो ।

चियापानमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली अस्वस्थताका कारण सहभागी हुन सकेनन् । विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी, सरकारी कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारणको चियापानमा उपस्थिति थियो । तर, सबैको आँखाले दुई जना मानिस खोजिरहेको थियो । ती हुन् नेत्रविक्रम चन्द विप्लव र सिके राउत । नेकपाका ५० हजार निम्तालुमध्ये थिए विप्लव र राउत ।

 

उनीहरुलाई चियापान आयोजक समितिका संयोजक नेकपा महासचिव विष्णु पौडेलले हस्ताक्षर गरेको पत्र पठाएर निम्तो दिइएको थियो । तर, दुवै सहभागी भएनन् । विप्लवका धेरै नेता कार्यकर्तालाई सरकारले हिंसात्मक गतिविधि र चन्दा आतंक मच्चाएको आरोपमा पक्राउ गरेर मुद्धा चलाएको छ । राउत स्वतन्त्र मधेस अभियानका नाममा मुलुक टुक्र्याउने खुलेआम घोषणा गर्दै आएका छन् । विखण्डनकारीको आरोपमा बेलाबेला पक्राउ पर्दै छुट्दै आएका राउतलाई नेकपाले चियापानमा निम्तो दिएको भन्दै पार्टीभित्र र बाहिरसमेत विरोध भएको थियो ।