सांसद हरिनारायण रौनियार निलम्बित


काठमाडौं असाेज २०। पप्पु कन्स्ट्रक्सनका सञ्चालक र तिनलाई सघाउने सरकारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ठूला सरकारी ठेक्का समयमै पूरा नगरी अलपत्र छाड्ने पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार, छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

 

हरिनारायण संघीय समाजादी फोरमका सांसद हुन् । मुद्दा दायर भएसँगै उनी सांसदबाट स्वतः निलम्बनमा परेका छन् । अभियुक्त सबै फरार छन् । अख्तियारले उनीहरूसँग ९० करोड ८९ लाख २ हजार ५ सय ८ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट बबई पुल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहित १२ विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

 

सबैसँग छुट्टाछुट्टै बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । बबई पुल निर्माण नसकिँदै भास्सिएपछि पप्पुको अनियमितता बाहिर आएको हो । अख्तियारले अभियुक्तलाई २ देखि ३ वर्षसम्म जेल सजाय हुनुपर्छ भनेको छ । पप्पु कस्ट्रक्सनले देशभर ११ अर्बभन्दा बढीको ठेक्का पाएको छ ।

 

पप्पुसँगै डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव र निमित्त डिभिजन प्रमुख नवराज केसीलाई पनि अख्तियारले अभियोग लगाएको छ । इन्जिनियर प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट तथा सब इन्जिनियर कार्मा तेन्जिङ तामाङ, गोविन्द गैरे र एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

 

सरकारी अधिकारी पनि स्वतः निलम्बनमा परेका छन् । अख्तियारले कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण र उनका छोरा तथा हालका अध्यक्ष सुमित रौनियारबाट छुट्टाछुट्टै १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँको बिगो भराउन माग दाबी गरेको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ ९४० बमोजिमको सजाय मागिएको छ । यसअनुसार दोषी प्रमाणित भए उनीहरूले दुई वर्ष जेल बस्नुपर्नेछ भने बिगोबमोजिम जरिवाना गरी बिगो जफतसमेत हुने कानुनी प्रावधान छ । आजको अन्नपूर्णपोष्टबाट ।