यो वर्ष नेपालबाट मनसुन बाहिरियो

काठमाडौं, असोज २० । यो वर्षको मनसुन नेपालबाट बाहिरिएको छ ।गएको अक्टोबर एक तारिखमा नेपालको पश्चिमीभागबाट बिदा भएको मनसुन पुर्वी भागहुँदै देशभरीबाट बाहिरिएको छ ।

 

सामान्यतया जून १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा मनसुन बाहिरिने गरेपनि यसपालि दुईदिन अघि जून ८ मा मनसुन भित्रिएर दूई साता ढिला अक्टोबर ५ मा विदा भएको मौसमविदहरुले बताएका छन् ।

 

नेपालमा गएको केही वर्षदेखि नै मनसुन बिदा हुने समय लम्बिँदै गइरहेको छ । पश्चिम क्षेत्रबाट मनसुन बाहिरिसकेकाले मध्य र पूर्वमा भने निकै कमजोर बन्दै गएको थियो ।

 

बंगालको खाडीदेखि भारत हुँदै पूर्वी नेपालबाट मनसुनी वायु भित्रिने गर्छ । जसले गर्दा जुन महिना देखि सेप्टेम्बर महिनासम्म धेरै वर्षा हुने गर्छ । नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशत वर्षा यही चार महिनाको अवधिमा हुन्छ । सेप्टेम्बर महिनाको अन्त्यसँगै बंगालको खाडीबाट सुरु भएको मनसुन पश्चिम नेपाल हुँदै विदा हुन्छ । पूर्वी नेपाल हुँदै फैलिने मनसुनी प्रणाली पश्चिमबाट सफा हुँदै बाहिरिने गर्छ ।

 

मनसुन बिदा भएपछिको समयमा भने स्थानीय प्रणाली तथा समुन्द्रमा आउने चक्रवातका कारण कहिलेकाहीँ वर्षा हुने गर्छ । बंगालको खाडीमा विकास भएको मौसमी प्रणाली र जलवाष्पका कारण हुने वर्षा भने मनसुनसँगै विदा हुन्छ ।