निर्मला हत्या प्रकरण : ७१ दिनसम्ममा दोषी पत्ता लागेन


काठमाडौं असाेज २१। निर्मला पन्तको हत्या भएको ७१ दिन पूरा भएको छ । तर, हत्या कसले गरेको हो भन्ने अहिलेसम्म अत्तोपत्तो छैन । सरकारले उच्चस्तरीय आयोग गठन गरे पनि ती आयोगहरु नाम मात्रैमा सीमित भएका छन् ।

 

गृह मन्त्रालय तथा नेपाल प्रहरीले घटनाको अनुसन्धानका लागि पटकपटक समितिहरु गठन गरे पनि तिनले दिएको प्रतिवेदनसमेतसरकारले सार्वजनिक गरेको छैन । कतै निर्मलाको हत्यारा पत्ता लाग्ने त होइन भन्ने आशंका अभिभावकको छ । सरकारद्वारा पछिल्लो पटक गठन भएको उच्चस्तरीय छानविन आयोगका प्रमुख, एआईजी धीरु बस्न्यात नेतृत्वको टोलीले निर्मलाका परिवारलाई भेटेको छैन ।

 

त्यहीं पनि निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ । एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित छानविन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भीर प्रकृतिको लापरबाही भएको ठहर गरेको हो ।

सरकार कहाँ चुक्दै छ  बलात्कारीसँग झुक्दै छ

महिला अधिकारकर्मी शारदा चन्दले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आयोग नाम मात्रैको हो कि भन्ने शंका लाग्न थालेको छ । अहिलेसम्म डीआईजी साबले निर्मलाका बुवाआमालाई भेट्नुभएको छैन । घटनाको अनुसन्धान गर्न नसक्ने प्रहरी नेतृत्वले राजीनामा दिए हुन्छ ।’ निर्मलाको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएको सार्वजनिक भइसकेको छ ।

 

यसैबीच निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । दोषी पत्ता लगाउन सरकार चुकेको भन्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।घटना भएको ३ महिना हुन लाग्दा समेत दोषी पहिचान हुन नसकेको भन्दै सरकारको खबरदारी गरिएको थियो । बलात्कारीलाई माया गर्छौ, न्याय माग्नेलाई लाठी बर्साउँछौ, आईजीपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गरलगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

 

यस्तै सरकार कहाँ चुक्दै छ रु बलात्कारीसँग झुक्दै छ भन्ने नारासमेत प्रदर्शनका क्रममा गुन्जिएको थियो । प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत सयौं युवाको सहभागिता रहेको थियो ।

 

निर्मलाका निम्ति न्याय नाम दिइएको प्रदर्शनमा सहभागी रविन महर्जनले भन्नुभयो– ‘पटक–पटक जुलुस निस्किए पनि सरकार कानमा तेल हालेर बसेको छ । अब चुप लागेर बस्नु हुँदैन । बलत्कारीलाई फाँसी दिने कानुन बनाएर कार्यान्वयन गरिनुपर्छ ।’ सरकारकै संरक्षणमा दोषी पहिचानको प्रक्रियालाई तोडमोड गरिएपछि निर्मला पन्तको बलात्कार र हत्याको विषय चर्को मुद्दाका रुपमा उत्रिएको हो ।आजको समाचारपत्रबाट ।