भूकम्पपीडितलाई खुसीको खबर नयाँ ऋण, अब ब्याज सरकारले ब्यहोर्ने

काठमाडौं, असोज २४ । हालसम्म पनि घर निर्माण सुरु नगरेका वा दोस्रो किस्ताको रकम समेत नलिएका भूकम्पपीडितहरूका लागि भनेर सहुलियतपूर्ण ऋणको नयाँ व्यवस्था गरिएबाट निजी आवास पूनर्निर्माण गर्न चाहने पीडितहरूलाई राहत पुग्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

 

सरकारले हालै गरेको निर्णय अनुसार भूकम्पपीडितहरूलाई बैंकहरूले आफ्नो आधारभूत ब्याजदरको आधारमा तीनलाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने र सरकारले त्यस्तो ब्याजदरको पाँच प्रतिशत रकम बेहोरिदिने व्यवस्था गरिएको छ।यसअघि सामूहिक जमानीमा तीन लाख रुपैयाँसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गरिएको भनिएता पनि त्यो कार्यान्वयनमा नै आउन सकेको थिएन।

 

पैसाको अभावमा घर निर्माण थाल्न नै असमर्थ रहेका भूकम्पपीडितहरूसम्म पुग्नका लागि यो नयाँ व्यवस्थालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरूले व्यवहारिक कदम छन्।

 

यसअघि ब्याङ्क तथा वित्तिय संस्थाहरूले नेपाल राष्ट्र ब्याङ्कबाट शून्य प्रतिशत ब्याजदरमा पैसा लिएर दुई प्रतिशत ब्याजदरमा भूकम्प प्रभावितहरूलाई ऋण निकासा गर्न सकिने भन्ने व्यवस्था थियो।

 

तर ब्याङ्कहरूले आफ्नो लगानीको सुरक्षामा सुनिश्चित हुन नसकिएको र उक्त ब्याजदरबाट आफ्नो व्यवस्थापकिय खर्च समेत धान्न नसकिने बताउंदै आएका थिए।

नयाँ व्यवस्थाले पुरानो अवस्था टरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली दाबी गर्छन्।

 

उनी भन्छन्, तीन लाख रुपैयाँका लागि पाँच प्रतिशत बराबरको ब्याजको अनुदान सरकारले उपलव्ध गराइदिने छ। यसले अहिलेसम्म पनि ऋणको प्रतिक्षा गरिराखेका भुकम्पपीडितहरूलाई राहत मिल्नेछ।पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म झण्डै ५ लाख भूकम्प पीडितले दोस्रो किस्ता लिइसकेका छन्।

 

नयाँ व्यवस्थासँगै घर बनाउन १५ लाख र २५ लाख रुपैयांसम्म ऋण लिन पाइने प्रावधान भने आश्विन मसान्तसम्म मात्र ऋण सम्झौता गरेकाको हकमा लागु हुने सूचना नेपाल राष्ट्र ब्याङ्ले जारी गरिसकेको छ।

 

अब ऋण वापत धितो लिन पाउने र कर्जाको बिमा समेत हुने भएकाले ब्याङ्कहरूलाई अघिल्लो व्यवस्थामा भन्दा सहज हुने नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना बताउँछन्।

 

उनी भन्छन्, ूपहिले निर्ब्याजी कर्जा दिने र त्यसको ब्याज सरकारले दिने भनेको थियो तर कर्जा फिर्ताको दायित्व ऋणिकै थियो। विना धितो समूहमै दिने भन्ने सम्भव नै थिएन। अहिले धितो लिएर, आयस्रोत हेरेर दिने र कर्जाको विमा हुने भनिएकाले हामीलाई सहज छ।ूयस्तो ऋण लिनेहरूको घर बनाउन पाइने तीन किस्ते अनुदानमा भने कुनै असर पर्ने छैन।

ब्याङ्कहरूले आफ्नो आधारभूत ब्याजदरमा थप्ने दुई प्रतिशत बाहेक अन्य कुनै सेवा शुल्क लिन पाउने छैनन्।

 

प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली थप्छन्, लाभग्राहीहरू जसले अहिलेसम्म घर बनाउन सकेको अवस्था छैन, दोस्रो किस्ता समेत लिन सकेको अवस्था छैन र घरको शुरूवात गर्न नसक्ने उनीहरूलाई यस्तो ऋण दिनु परेको हो।यसअघिको व्यवस्थामा नीजि ब्याङ्क तथा वित्तिय संस्थाहरूलाई सरकारले दिने रकम नै कर्जा प्रवाहमा जाने हुँदा सरकारी ढुकुटीको निकासा क्षमतामा नै ऋण प्रवाह निर्भर रहनु पर्ने अवस्था थियो जुन समस्या अब नरहेको हुंदा अब ब्याङ्कहरू स्वयं अग्रसर हुन सक्ने जानकारहरू बताउँछन्।बीबीसीबाट