गुर्जा हिमालमा डरलाग्दो हिमपहिरो नौं जनाको मृत्यु


म्याग्दी असाेज २८। म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता पर्यटकको शव देखिए पनि ती शव उठाउन सकिएको छैन। दक्ष जनशक्ति र उपकरणको अभावमा शव ल्याउन नसकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

 

गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गुर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो। हेलिकोप्टरबाट बिहान हेर्दा ८ वटा शव देखिए पनि स्थानीय बासिन्दा घटनास्थलमै पुगेर हेर्दा ७ वटा मात्रै भेटिएको उहाँले बताउनुभयो। प्रहरीका अनुसार खोंच र अप्ठेरो भीरमा रहेकाले उपकरणबिना शव उठाउन कठिन भएको छ। देखिएका शवमध्ये ४ वटा कोरियन र २ वटा नेपालीको भएको र एउटा चिन्न नसकिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो।

 

सिम्रिक एयरको हेलिकोप्टर पोखरा आएर बसेको हुँदा आइतबार बिहान मात्रै बेपत्ता शव उठाउन सकिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो। बेपत्ता भएकाहरुको खोजी गर्न गुर्जा गाउँबाट १६ जना स्थानीय घटनास्थल पुगेका थिए। गुर्जा गाउँदेखि घटनास्थल गुर्जा हिमालको आधार शिविर पुग्न ५ घन्टा लाग्ने वडाध्यक्ष छन्त्यालको भनाइ छ।

 

उहाँले दिनुभएको जानकारीअनुसार शव क्षतविक्षत देखिएको छ भने हिमआँधीका कारण टेन्ट पनि यत्रतत्र छरिएको छ। ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो। हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ। शनिबार बिहान उद्धारका लागि सिम्रिक एयरको हेलिकोप्टर घटनास्थल पुगे पनि अवतरण हुन नसकेपछि फर्किएको थियो। कोरियाली नागरिक किम चङ होको नेतृत्वमा प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो।आजको समाचारपत्रबाट ।