निर्मला हराएको न्याय खोज्न दिउँसै ‘टर्च’ बालेर विरोध प्रर्दशन

कञ्चनपुर, मंसिर १९ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको दोषी पत्ता नलागेपछि हराएको न्याय खोज्न बुधबार महेन्द्रनगरमा नागरिक संघर्ष समितिले दिउँसै टर्च बालेर विरोध प्रर्दशन गरेको छ ।

 

हत्याको घटना भएको चार महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन हराएको न्याय खोज्न भन्दै टर्च बालेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरिएकोे हो ।

 

अधिकारकर्मी सहितको संघर्ष समितिले जिल्ला प्रशासनको हाताभित्र नाराजुस गर्दै टर्च बालेर महेन्द्रनगर बजारमा प्रदर्शन गरेका हुन् । देशमा न्याय हराएकाले टर्च बालेर न्याय खोज्ने प्रयास गरेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

 

अधिकारकर्मी सारदा चन्दले निर्मलाको हत्या भएको एक सय ३० दिन वितेपनि हत्यारा पत्ता नलागे पछि हराई रहेको न्याय खोज्न दिउसै टर्च बालेर सडकमा उत्रिएको बताईएकी छिन । हत्यारालाई कानुनी कठघारामा नउभ्याउदा सम्म आन्दोलन जारी रहन्छ ।’ उनले भनिन्, ‘देशभरीका नारीहरुको शुरक्षाका लागि पनि संघर्ष गर्ने बेला आएको छ ।’

 

संघर्ष समितिले दबाबमूलक आन्दोलनसँगै पीडित परिवारले सुरु गरेको अनिश्चितकालीन धर्नामा पनि ऐक्यबद्धता जनाउदै आएको छ । सरकारले आन्दोलनलाई बेवास्ता गरे पुनः छलफल गरी आन्दोलनका थप कार्यक्रम तय गरिने अधिकारकर्मीहरुको भनाई छ ।

 

यसअघि, नागरिक संघर्ष समितिले सोमबार र मंगलबार ११ बजेदेखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाधेर र सडकमा सुतेर विरोध जनाएका थिए । बिहीबार संघर्ष समितिले महेन्द्रनगरमा मानसांङलो प्रदर्शन गर्ने जनाएको छ । मानवसाङलो बनाएर जिल्ला प्रशासन कार्यालय र स्थानिय सरकार घेर्ने संघर्ष समितिको योजना रहेको छ ।