अब कुनै खाले सिन्डिकेट रहदैन : गृहमन्त्री थापा

काठमाडौं ,मंसिर २३। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली सिण्डिकेट चाँडै अन्त्य गरिने बताएका छन् ।

 

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई  सम्बोधन गदै उनले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाएका हुन् ।

उनले भने, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।”

 

यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उनले जानकारी गराए । उनले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ यातायातको विकास गरिने बताए ।

 

गृहमन्त्री थापाले मुलुकको चाँडो विकास गर्न ऊर्जा र यातायातका माध्यमबाट सम्भव रहेको धारणा राखे। “मुलुकमा समृद्ध मानिस र सुखी मानिस पनि नभएका होइनन् तर ती मानिस आलोपालो प्रणालीको कारण आफूमात्र समृद्ध र सुखी भएका छन्” उनले भने, “अब सबै नेपालीलाई समृद्ध र सुखी बनाउने अभियानमा सरकार लागेको छ ।

चीनले ‘एक क्षेत्र एक मार्ग’ अभियानमार्फत यातायातको माध्यमबाट चमत्कारी विकास गर्न खाजेको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालले पनि चीनबाट सिकेर मुलुकको विकास गर्नसक्नु पर्नेमा जोड दिए ।

 

कार्यक्रममा समितिका अध्यक्ष होमप्रकाश अधिकारीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आफूहरुले आलोपालो प्रणाली तोडेर निजी कम्पनीमा गएको बताए । समितिमा ५१ वटा यातायात व्यवसायी कम्पनी आबद्ध रहेका छन् । रासस