सशस्त्रमा माग भन्दा कम उर्तीण भएपछि पाठ्यक्रम नै परिवर्तन

काठमाडौं,चैत २१।मागसंख्या भन्दा अत्यन्तै कम परीक्षार्थी उत्तीर्ण हुन थालेपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिमार्जन गरेको छ। शारीरिक सहिष्णुतालगायत विषयमा राम्रो नतिजाका साथ उत्तीर्ण उम्मेद्वार लिखित परीक्षामा आएर अनुत्तीर्ण भएपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिमार्जन गरी सेवा प्रवेशको मौका दिन लागेको हो।

 

सशस्त्रको नयाँ नीतिका कारण माग गरेबमोजिम उम्मेदवार उत्तीर्ण हुने र यसबाट राज्यकोषमा थप आर्थिक भार नपर्ने अपेक्षा गरिएको छ। साथै बढीभन्दा बढी उत्तीर्ण हुँदा सशस्त्रको जनशक्ति पूर्ति भई कार्यसम्पादनमा समेत सहज हुने छ। हाल सशस्त्र प्रहरी बलमा ५ हजार ३ सय ८१ जनशक्ति कम छ ।

 

३७ हजार एक सय १७ दरबन्दी रहेको सशस्त्रमा यो संख्या भनेको झण्डै १५ प्रतिशत कम हो। यो भनेको आठ ओटा बाहिनीबराबरको जनशक्ति हो। सशस्त्र प्रहरी बलले जवान पदका लागि ३१ साउन २०७४ मा खुलाएको दरखास्तमा ७ हजार ३९१ लिखित परीक्षामा सहभागी भएका थिए। तर, दुई हजार १९३ मात्र उत्तीर्ण भएका थिए। यस्तै, २२ भदौ २०७५ मा खुलाएको दरखास्तमा ६ हजार २९६ जना लिखित परीक्षामा सहभागी भएकोमा एक हजार २१२ जना मात्र उत्तीर्ण भएका थिए।

 

जबकी सशस्त्र प्रहरी बलले २२ भदौमा एक हजार ९३६ जवानका लागि भर्ना आह्वान गरेको थियो। दुबै विज्ञापनमा माग संख्या भन्दा निकै कम उम्मेदवार उत्तीर्ण भएपछि सशस्त्र प्रहरी बलले जवानका लागि तयार गरिएको पाठ्यक्रम कठिन भएको महशुस गर्दै त्यसलाई केही सरल बनाएको हो।

 

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठका अनुसार, मागसंख्या भन्दा कम उत्तीर्ण हुने र यसबाट जहिले पनि जनशक्ति अभाव भइरहने समस्या भएकाले पाठ्यक्रम परिवर्तन हो। ‘लिखित परीक्षामा सोधिने प्रश्न जटिल भएकाले कम परीक्षार्थी उत्तीर्ण हुने गरेको हामीले पाएका छौं, एकातिर जनशक्तिको अभाव भइरहने र भर्ना खुलाउँदा पनि आवश्यक संख्या उत्तीर्ण नहुने समस्या रहेकाले पाठयक्रम सहज बनाउनु परेको हो,’ प्रवक्ता श्रेष्ठले भने। यो खबर राजधानी दैनिकमा छ