विप्लव समूहका गाउँपालिका इञ्चार्ज लोकबहादुरले गरे आत्मसमर्पण

रामेछाप,चैत २१।सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै सो पार्टीको गतिविधि र कार्यकर्तामाथि व्यापक निगरानी बढाइएको छ । यससँगै विप्लवका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि केहीले आत्मसमर्पण गर्न थालेका छन् । यसैक्रममा रामेछापको गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले पनि आत्मसमर्पण गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा उनले आत्मसमर्पण गरेका हुन् ।

२०७३ सालदेखि विप्लव समूहका लागेका राना मगर २०७४ सालमा पार्टीको गाउँपालिका इञ्चार्ज भएका थिए । रामेछापको खाँडादेवी गाउँपालिका९१ राकाथुमका स्थायी बासिन्दा रानाले पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेकाले परित्याग गरेको बताए । उनले अब स्वतन्त्र नागरिकको रुपमा बस्न चाहेको बताए ।

 

आत्मसमर्पण गर्न आएका राना मगरलाई प्रशासनले मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा बुधबार नै छाडेको छ । हिंसात्मक गतिविधिमा नगाल्ने र सामाजिक काममा सक्रिय हुने प्रतिवद्धताका साथ आएकाले छाडिदिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनको गतिविधिको प्रशसानले निरन्तर निगरानी भने गरिरहने उनले बताए ।