कांग्रेसमा १२ सय उजुरी, कारवाही सुरु

काठमाडौं, बैशाख १६ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका करिब एक हजार २०० वटा उजुरीको पोको खोल्न सुरु गरेको छ।

 

समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट खोल्न सुरु गरेको हो। समितिका संयोजक भीष्मराज आङदेम्बेले समितिमा नयाँ ३०० र पुराना ९०० गरी करिब एक हजार २०० हाराहारीमा उजुरी प्राप्त भएको र त्यसलाई खोल्न सुरु गरिएको जानकारी दिएको समाचार राजधानी दैनिकमा छ।

 

प्राप्त नयाँ उजुरीमध्ये धेरैजसो स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा पार्टीले तोकेको आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित रहेको बताइएको छ।