बालुवाटार जग्गा प्रकरण स् किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

काठमाडौँ,भदौ १।  बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् ।

विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट प्राप्त गरेको छ । पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक खडा गरिदिएको भेटिएको थियो । जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो ।

 

त्यही कागजलाई तत्कालीन जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, पुनरावेदन अदालतका न्यायाधीशद्वय शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठले ‘सद्दे’ ठहर्‍याएका हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आफ्नो प्रतिवेदनमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने खेलमा संलग्न भनी रामकुमार सुवेदी र ढकाललाई ‘भूमाफिया’ किटान गरेको थियो ।

 

ढकालले पत्नी उमा ढकाल्नीको नामबाट तमसुक गरेका हुन् । यससम्बन्धी कागजात अध्ययन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उमाको नाम प्रयोग भए पनि सबै काम शोभाकान्तबाटै भएको छ । शान्ता खनालले मञ्जुरीनामाका लागि मात्रै भनी दिएको कागज र त्यसैको अगाडिपट्टि शोभाकान्त ढकालले पत्नी उमाको नाममा बनाएको तमसुक ।

 

अदालतमा दिएको जवाफ र अन्य विवरणअनुसार उमाको नामबाट शान्ता र उनका देवर नारायण खनालको नाममा २ करोड ५० लाख रुपैयाँ ऋण दिएको तमसुक बनेको थियो । त्यसबीच शोभाकान्तसँग मिलेर उनैको इसारामा नारायणले दाइ चन्द्रमणि र भाउजू शान्ताविरुद्ध अंशमुद्दा गरेका थिए । त्यो मुद्दा हारेलगत्तै शोभाकान्तले पत्नीका नामबाट शान्ताविरुद्ध लेनदेन मुद्दा अघि बढाएका हुन् । औंठाछाप गरेर दिइने खाली कागजलाई लिफा भनिन्छ । लिफा गरिएको कागजमा तमसुक बनाउनु किर्ते हो ।यो खबर कान्तिपुर दैनिकमा छ ।