कोरियाको सपना काठमाडाैमै तुहियो : प्रहरीबाट छुटेको ३ घण्टामै रहस्यमय मृत्यु

काठमाडौं,भदाै ७ । सुर्खेत वेदनगर नगरपालिका १२ का विष्णुप्रसाद जैसीमाथि साउन २६ गते चोरीको आरोप लाग्यो । कोरियन भाषा सिक्न भन्दै काठमाडौंको कीर्तिपुर आएका जैसीमाथि चोरीको आरोपले प्रहरी हिरासतसम्म पुर्‍यायो । उनी जुन होस्टलमा बसेका थिए त्यहीका सञ्चालकको बाला चोरी आरोपमा उनी करिब २४ घण्टा प्रहरी हिरासतमा रहन पुगे ।

 

उनी बसेको होटल सञ्चालकको बाला हराएपछि उनीमाथि चोरीको आरोप लाग्यो । र प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लियो । कीर्तिपुरस्थित महानगरीय प्रहरी बिटमा उनलाई करिब २४ घण्टा नियन्त्रणमा राखियो । त्यो अवधिसम्ममा चोरी गरेको कुनै प्रमाण फेला परेन् ।

 

प्रहरीले छानबिनपछि भन्यो,– उनी निर्दोष छन् । हिरासतमा राख्ने कुनै पनि आधार छैन ।’ त्यसपछि कीर्तिपुर प्रहरीले विष्णुलाई बुझ्नको लागि उनको बुबा हरिशचन्द्र जैसीलाई फोन गर्योे। हरिशचन्द्र सुर्खेतमै थिए । त्यसैले हरिशचन्द्रले आफू नआउन्जेल छोरालाई प्रहरीकहाँ नै राख्न आग्रह गरे । उनले आफु काठमाडौं आएपछि बुझ्ने बताए । तर प्रहरीले २४ घण्टाभन्दा बढि प्रहरी हिरासतमा राख्ने अधिकार आफुहरूसँग नरहेको बतायो ।

 

अन्ततः प्रहरीले विष्णुलाई अरु कसैको जिम्मा लगाउने भयो । प्रहरीले जिम्मा पनि यस्तो व्यक्तिलाई लगायो की जसले उनलाई चोरीको आरोपमा थुनाएका थिए । अर्थात भ्याली इन्स्टिच्युटका सञ्चालक तथा इन्स्टिच्युटद्वारा सञ्चालित होस्टलका कर्मचारी बोलाएर विष्णुलाई जिम्मा लगायो । जसले थुनाउन लगेको थियो, ती मान्छेलाई बोलाएर प्रहरीले बुझाउँदा उनी सकुशल थिए ।

 

प्रहरीले उजुरी दिनेलाई नै जिम्मा लगाएको तीन घण्टामै विष्णु मृत भेटिए । मृत्युको खबर उनको सुर्खेतस्थित घरमा पुग्यो। प्रहरीले सोधपुछ गर्दा निर्दोष भनेको व्यक्ति सञ्चालकको जिम्मा लगाएको ३ घन्टाभित्र मृत्यु हुन्छ ? भन्दै उनका बुबाले काठमाडौं आएर कीतिपुर प्रहरीमा किटानी जाहेरी दिए।

 

कीर्तिपुर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर किटानी जाहेरीमा परेका व्यक्ति पक्राउ पर्न सकेका छैनन् । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समयमा बोल्दै सांसद भैरवसुन्दर श्रेष्ठले विष्णुप्रसाद मृत्यु र प्रहरी अनुसन्धानबारे सरकारको ध्यानाकर्षण गराउँदै भनेका थिए । उनले सरकारको ध्यानाकर्षण गराउँदै प्रहरीको अनुसन्धानप्रति शंका व्यक्त गरे ।