उपचारका क्रममा बाजुरामा एक सुत्केरीको मृत्यु

बाजुरा, भदौ ७ । जिल्ला अस्पताल बाजुरामा एक जना सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नं। ७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

 

शनिबार बिहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि नेपालीको थप उपचारका क्रममा जिल्ला अस्पताल बाजुरा बाजुरामा मृत्यु भएको हो । घरमै सुत्केरी व्यथा च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा ल्याएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले उनको उपचार गरिहेको बेला उनको एक्कासी मृत्यु भएको आफन्त प्रेम नेपालीले बताए ।

 

सुत्केरी महिलाको शरिरबाट अत्याधिक मात्रामा रगत बगिसकेको र उनलाई आवस्यक परेको रगत समेत खोजि भईसकेको थियो तर पनि उनको एक्कासी मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डाक्टर दुर्गाराज महर्जनले बताए । सुत्केरी महिलाका परिवारहरुले उनलाई गत साउन २६ गते जिल्ला अस्पताल ल्याएका थिए ।

 

अस्पतालमा डाक्टरहरुले सुत्केरीको अवस्थाबारे बुझेपछि उनलाई भदौ २ गते जिल्ला अस्पतालमा सुत्केरी गराउनका लागि ल्याउनु पर्ने सल्लाह दिएका थिए । तर उनका आफन्तहरुले सुत्केरी नेपालीलाई समयमै जिल्ला अस्पतालमा सुत्केरी गराउन नल्याएपछि उनलाई सुरक्षित अवस्थामा सुत्केरी गराउन नसकिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरिले बताएका छन् । मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।