सभापतिहरूका गाडीको भौतिक परीक्षण सुरु

काठमाडौँ, भदौ १० । संसदीय समितिका सभापतिहरूको गाडीको भौतिक परीक्षण सोमबारदेखि सुरु गरिएको छ । सङ्घीय संसद्का संसदीय समितिका सभापतिहरूले नयाँ गाडी लिएको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गर्नुभएको थियो । उक्त समितिले गाडीको भौतिक परीक्षण सुरु गरेको हो ।

 

छानबिन समिति संयोजक तथा राष्ट्रिय सभाको प्रत्यायोजित विधायन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर मेकानिकल इन्जिनियरबाट गाडीको परीक्षण सुरु गरिएको जानकारी दिनुभयो ।

 

छानबिन समितिले सभापतिहरूका लागि भएको गाडी खरिद प्रक्रियाका सम्पूर्ण कागजात मगाएर अध्ययन गरेको थियो । उहाँले भन्नुभयो, “खरिद प्रक्रिया के कस्तो भएको छ भनेर हेर्ने काम सम्पन्न भएको छ । ” गाडीका प्रयोगकर्तासँग पनि समितिले गाडीको अवस्थाबारे जानकारी लिएको थियो । छानबिन समितिले गाडी बिक्री गर्ने कम्पनीको सेयरधनी सञ्चालकलाई पनि आफैँ उपस्थित हुन पत्र काटेको छ । गाडीको सञ्चालक बुधबार उपस्थित हुने पनि संयोजक बिडारीले जानकारी दिनुभयो । समितिले ११ वटा गाडीको अवस्थाबारेमा छानबिन गरिरहेको छ ।

 

सभापतिहरूलाई असार २३ गते मात्रै ११ वटा नयाँ गाडी हस्तान्तरण गरिएको थियो । सङ्घीय संसद् सचिवालयले महिन्द्रा एस–पाइभ स्कोर्पियो गाडी खरिद गरेको थियो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ भएको सचिवालयले जनाएको छ । सभापतिहरूले बारम्बार गाडी पुरानो भएको दबाब दिएपछि सचिवालयले नयाँ गाडी खरिद गरेको थियो । नयाँ गाडीमा गेयर, भाइजर, स्पिकर र ढोकामा समस्या देखिएको छ ।

 

छानबिन समितिमा प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका दुई विषयगत समितिका सभापति हुनुहुन्छ । समितिमा बिडारीसहित तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल हुनुहुन्छ । गोरखापत्र दैनिकमा खबर छ।