भारतबाट नेपाल आउने सिमाना बन्द गरि नेपाली सेनालाई सिमानामा खटाऔ

 काठमाडाै।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छन्। सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघिसारेकी हुन्।

 

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दैनिक मिटरका दरले भारतीय सीमा सुरक्षा बलले हतियारको बलमा नेपालको हजारौं किलोमिटरसम्मको भूमि मिच्ने काम गरेकाले त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्ने बताइन् ।

 

‘भारतीय सीमा सुरक्षा बलले जबर्जस्ती नेपालको भूमि दैनिक मिटरमा र वर्षमा हजारौं किलोमिटरका दरले मिच्ने गरेको छ,’ सांसद भुसालको भनाई थियो, ‘त्यसकारण त्यसलाई रोक्न पनि दुई मुलुकबीचको सीमा नाका बन्द गर्नुपर्छ ।

 

यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडलले भने नेपाल–भारतबीचको सीमा नाका बन्द गर्ने सत्तारुढ नेकपाकी सांसद भुसालको प्रस्तावप्रति आपत्ति जनाए।

 

उनले भौगोलिक रुपमा पनि निकट सम्बन्ध रहेको दुई मुलुकबीच सीमा नाका बन्द गर्न नमिल्ने उल्लेख गर्दै बरु भूमि मिच्न नदिन सरकारले भारत सरकारसँग तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए। नेपाल–भारतबीच भौगोलिक रुपमा समेत अति सामीप्यता भएकाले सीमा क्षेत्रमा काँडेतार लगाउने कुरा दुवै पक्षलाई मान्य नहुने उनको तर्क छ।

 

त्यस्तै बुधबारको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अङ्गीकृत नागरिकता दिनेबारेको छलफलमा सांसदहरुबीच यसबारे विवाद उत्पन्न भएपछि बैठक बिनानिष्कर्ष सकिएको छ। छलफलका क्रममा सांसदहरुबीच चर्काचर्की नै हुन पुग्यो । अङ्गीकृत नागरिकताको विषयमा सांसदहरुबीच विवाद देखिएपछि बैठक बिना ष्किर्ष सकिएको छ। बैठकमा सभापतिले शशी श्रेष्ठले यो विषयमा चाँडोभन्दा चाँडो सहमति जुटाउन आग्रह गरेकी थिइन् ।