पाशुपत क्षेत्रमा मांसमदिरा बन्द गरिँदै

काठमाडौँ, असोज ९   । विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारलाई बडादशैँ र तिहारको आसपास हटाइने भएको छ । यस क्षेत्रमा रहेका देवस्थलकै दोब्बर हाराहारीमा रक्सी पसल र रक्सी पिउने भट्टी छन् ।

 

काठमाडाँैं महानगरपालिका–७ कार्यालय र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट हटाउने टुङ्गो लागेको वडा सदस्य कृष्णमणि भट्टराई बताउनुहुन्छ । यो क्षेत्रमा सत्तल पाटी घाटसहित देवस्थल ५१८ छन् भने रक्सी पसल र मासु र जाँड पाइने भट्टी पसल पनि उत्तिकै हाराहारीमा छन् । कामना–७ मा मात्र २०० वटा रक्सी पसल र अनगिन्ती भट्टी छन् । नेपाल राजपत्रमा प्रकाशित सूचनाले यो क्षेत्र मांस र मदिरा प्रयोग उपयोग र बेचबिखन निषेधित क्षेत्र हो । “सामुदायिक प्रहरी साझेदारी र वडा कार्यालयको पहलमा अवैध मदिरा बिक्री हटाउँदै छौँ, यस विषयमा परामर्श चलिरहेको छ”, काठमाडौँ महानगरपालिका–७ का वडा सदस्य कृष्णमणि भट्टराई भन्नुहुन्छ ।

 

गुह्येश्वरी गौरीघाट हुँदै मित्रपार्क सिफल रातोपुल गौशाला हुँदै तिलगङ्गा क्षेत्र पशुपति क्षेत्र हो । यही क्षेत्र रक्सी पिउने भट्टी, रक्सी बेच्ने खुद्रा तथा थोक पसल र मासुका विभिन्न परिकार पाइने रेस्टुराँले भरिभराउ र खचाखच छ ।

 

मदिरा बिक्रेता पशुपतिका ज्ञान डङ्गोल आफूहरूको खासै अन्य व्यवसाय नभएकाले रोजगारीका लागि पनि यस्तो पसल खुल्न दिनुपर्छ भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिफलचोकमा दैनिक १२ वटा खसी ढालिने मासु पसल छ, मदिरा पसलमा मात्र किन यस्तो नजर ? सरकारलाई राजस्व तिरेर खुलेका पसललाई निर्वाध चल्न दिनुपर्छ ।

 

सदस्य भट्टराईका अनुसार यस क्षेत्रमा २०० वटा रक्सी पसल, ३० वटा रक्सी डिलर छन् । जाँड र रक्सी तथा मासु खानपिउन पाइने ३०० बढी भट्टी पनि छन् । यो ७ वडाको एक खण्ड पशुपति क्षेत्र तोकिएको छ । महानगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश डङ्गोलका अनुसार सिफलको सेतो ढोकाबाट यो क्षेत्र प्रवेश गरेलगत्तै जयबागेश्वरी क्षेत्रमा पाँचवटा रक्सी पिउने र मासुका परिकार खान पाइने रेस्टुराँ, भट्टी छन् । दुईवटा रक्सीका ठूला डिलर छन् । स–साना भट्टीको लेखाजोखा नै छैन । जयबागेश्वरीबाट भूवनेश्वरी चोक पुग्दा यहाँ तीनवटा कहलिएका भट्टी छन्, यो वडाको पनि एक खण्ड पशुपति क्षेत्रमा पर्छ ।

 

पशुपति क्षेत्र विकास कोषले पनि यसलाई स्वीकार गरेको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेती भन्नुहुन्छ, “राजपत्रमा मदिरा र मांस निषेधित क्षेत्र तोकिएको छ, कोषको ऐनले यस्ता व्यवसाय रोक्न सक्दैन, यहाँको यस्तो व्यवसाय राज्यले नै हटाउनुपर्छ ।

 

नवालीटोलका स्थानीय पञ्चराम महर्जनका अनुसार यस क्षेत्रमा मांसमदिरा निषेध गरिएकोबारे जिल्ला प्रशासन कार्यालयले स्थायी सूचना टाँस गर्दै आएको छ तर यसको अनुगमन चाडपर्व मेलामा मात्र हुने गरेकाले अन्य बेला प्रभावकारी अनुभव गरिएको छैन ।गाेरखापत्रमा खबर छ।