मोदीको चाकडी र सीको प्रशंसाबाट माथि उठौं

काठमाडौं,असाेज ९। कम्युनिस्ट मुलुक चीनसँग सम्बन्ध बढाउँदा उसले बढी नियन्त्रण गर्ने हो कि ?

 

भाषा, भेष, धर्म र संस्कृति सबै मिल्ने खुला सिमानाको पुरानो मित्र भारत रिसाउने पो हो कि ?

 

कोही बीआरई भन्छन्, कोही इन्डो प्यासिफिक रणनीति, यी हुन् के र नेपाललाई कसरी लाभ वा हानि गर्छन् ?

 

‘हाम्रो परराष्ट्र नीति प्रस्ट हुनुपर्छ, अहिले म दक्षिणका मोदीलाई चाकडी र उत्तरका सीलाई प्रशंसा गर्नमै सरकार सीमित रहेको देखिरहेको छु’, प्रा. कृष्ण खनाल भन्नुहुन्छ– ‘नेपाललाई कस्तो सम्बन्धले कसरी लाभ हुन्छ भन्ने जनतालाई बुझाउनु आवश्यक छ, लोकतान्त्रिक व्यवस्थाको सञ्चालक सरकारले व्यक्तिको चाकडी र प्रशंसामा आफूलाई सीमित गर्नुहुन्न।

 

‘चीनले ल्याएको बीआरआई र अर्को पक्षको इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा शोध, विश्लेषण र छलफल हुनु आवश्यक छ’, डा. विष्णु उप्रेतीले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘यी अन्तर्राष्ट्रिय पहल र रणनीति नेपालले चाहे पनि नचाहे पनि आए–आए, पछि लतारिएर जानुभन्दा समयमै सरकारले संस्थागतरूपमा बृहत् विश्लेषण गरी मुलुकलाई लाभ हुने आधार पहिचान गरी मित्र राष्ट्रसँग सम्झौता गर्दा त्यसलाई अडानका रूपमा अघि सार्नु बुद्धिमानी हुन्छ।

 

पछिल्लो समय चीन सरकारका विशिष्ट व्यक्तिहरूले छोटो समयको अन्तरालमै लगातार भ्रमण गरेका र चिनियाँ राष्ट्रपति सी जिन पिङको विचारधारा नेपालका प्रधानमन्त्रीलगायत नेकपाका अध्यक्ष तथा अन्य प्रभावशाली नेतालाई प्रशिक्षणसमेत दिएका कारण नेपालको तटस्थ परराष्ट्र नीतिमा विचलन आउने हो कि भन्ने चिन्ता पनि विभिन्न कोणबाट प्रकट गरिएको छ।नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारीलाई पनि समीक्षकहरूले चासोका रूपमा लिएका छन्।

 

त्यसो त, ६ बुँदामा तटस्थता डगमगाउने कुनै बुँदा देखिँदैनन्।समझदारीका ६ बुँदामा भनिएको छ, ‘उच्चस्तरीय भ्रमणको आदान–प्रदान, कार्यकर्ता तहको अध्ययन भ्रमणमा सघनता, पार्टी–पार्टीका अनुभव साटासाट गर्ने, युवा र स्थानीय नेताको भ्रमण, बुद्धिजीवी–नागरिक संस्था, सञ्चार क्षेत्रलगायतका जनस्तरका निकायबीचको सम्बन्ध बिस्तार र विचार तथा सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने।

 

नेपाल र चीनका पार्टीबीच मंगलबार भएको यस समझदारीका सम्बन्धमा प्रा. खनाल भन्नुहुन्छ– ‘यो स्वाभाविक हो, दुवै कम्युनिस्ट पार्टीबीच यस प्रकारका भाइचारा सम्बन्ध हुन्छ, तर विचार पु¥याउनुपर्ने पक्ष चाहिँ नेपालको कुन आवश्यकता पूर्ति भयो वा हाम्रो हित भयो भन्ने नै हो।

 

नेपालले संविधानको मर्मलाई सम्मान गर्ने गरी मित्र राष्ट्रसँग सम्बन्ध बढाउनुपर्छ, असंलग्न परराष्ट्र सम्बन्ध हाम्रो मर्म हुनुपर्छ, प्रा. खनाल भन्नुहुन्छ– ‘व्यवहारमा जता हावा चल्छ उतै ढल्किने गरेको देखिन्छ, त्यसले मुलुकको हित गर्दैन।

 

नेपाल सरकारका सञ्चालकहरूमा कतै न कतै आश्रय नलिए गाह्रो पर्छ भन्ने मानसिकता छ, त्यसमा सुधार हुनु आवश्यक छ, उहाँ भन्नुहुन्छ।

 

‘चिनियाँ राष्ट्रपति सी महत्वाकांक्षी नेता हुन्, महाशक्ति राष्ट्र अमेरिकालाई टक्कर दिन बीआरआई औजार लिएर उनी विश्वव्यापी प्रभावमा निस्किएका छन्’, प्रा. खनालले भन्नुभयो– ‘यसलाई अवसरका रूपमा हामीले प्रयोग गर्नुपर्छ, राष्ट्रको हितमा लगाउनुपर्छ।

 

बीआरआईलाई कसरी स्वीकार गर्ने भन्ने विषयमा नेपाल चनाखो हुनुपर्छ, यस बेला हामी चुक्यौं भने सधैंका लागि क्षति बहन गर्नेछौं’, डा. उप्रेतीले भन्नुभयो– ‘यस सम्बन्धमा बृहत् विश्लेषण गर्न ढिला हुँदै छ।’राष्ट्रपति सीको भारत र नेपालमा हुन लागेको भ्रमणका बेला यस सम्बन्धमा सहमति हुने सम्भावना छ।

 

विगत तीन दशकदेखि नेपाली संस्कृति र मूल्य–मान्यताविपरीत नवउदारवादी पश्चिमेली चिन्तनको विकास अवधारणालाई चिर्न बीआरआई उपयुक्त औजार हो भन्ने एकथरी विश्लेषकहरूको धारणा छ भने विकासलाई नयाँ दृष्टिकोणबाट बुझ्ने अभ्यास शुरु गर्न नै गाह्रो छ भन्ने अर्का थरीको तर्क छ।

यति गम्भीर विषयमा चिनियाँ मित्रहरूबाट नेपाली नेताले के प्रशिक्षण पाए, नेपाली जनतालाई बुझाउन भने ढिला गर्नुहुन्न।

 

बीआरआईलाई जसले सडक सञ्जालको बिस्तारका रुपमा बुझेका छन्, त्यसको प्रारम्भ केरुङ–काठमाडौं रेल मार्गबाट शुरुआत गर्न सके मात्र पनि अवधारणाप्रति नेपालीको आस्था अभिवृद्धि हुनेछ।नेपाल समाचारपत्रमा खबर छ।