नेपालमा चिनियाँ रेल सञ्चालन हुने दुई देशका अधिकारी विच छलफल हुदै

काठमाडौं,मंसिर १०। नेपालमा चिनियाँ रेल सञ्चालन गर्ने तयारीसहित दुई देशका अधिकारी छलफलमा जुटेका छन् । काठमाडौं–केरुङ रेलमार्ग सञ्चालनको अवस्थाका बारेमा अहिले अध्ययन भइरहेको छ । दुई देशका अधिकारीबीच रेल सञ्चालनको सम्भाव्यता अध्ययन दुई देशको दायित्व निर्धारण लगायतका विषयमा छलफल हुनेछ ।

 

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि मंगलबार काठमाडौंमा पाँचौ चरणको बैठक बसेको छ । नेपालमा रेलमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययनसहित रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घर–टहरा, निकुञ्ज र जंगल क्षेत्रको अध्ययन गर्ने विषयमा बैठकमा छलफल भएको छ ।

 

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणले नेपाल चीन रेलमार्गको विषयलाई अझै ताकेता गरेको छ । यो बैठकले नेपाल र चीन जोड्ने यो रेलमार्गको सम्भाव्यता (फिजिविलिटी) अध्ययनलाई तत्काल अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले बताए ।

 

विस्तृत सम्भाव्यता अध्ययनका लागि दुई देशको दायित्व निर्धारण गर्न बैठकले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । यसअघि नेपाल र चीनबीच आर्थिक पाटोमा सहमति जुटाउन प्राविधिक विषयहरूमा मात्रै छलफल सीमित हुने गरेको थियो ।

 

अहिले भने पाँचौं बैठक मार्फत अन्तरदेशीय रेलमार्गको सम्भाव्यता, लगानी र भौगोलिक कठिनाईका विषयमा अध्ययन गर्न दुवै देशका अधिकारी जुटेका छन् । लगानी र भौगोलिक रुपमा कटिनाई रहेको यो परियोजनालाई सरकारले राष्ट्रिय हित र प्राथामिकताका आधारमा पहिचान गर्न जरुरी रहेको योजनाविद जगदिश चन्द्र पोखरेल बताउँछन् ।

 

चिनियाँ कम्पनीले यसअघि दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लम्वाईको हुनेछ । जसमा ७ वटा १८ किलोमिटरसम्म लम्वाईका सुरुङमार्ग निर्माण हुनेछ । त्यस्तै ७० मिटरसम्म उचाई भएका पुलहरु निर्माण गरिने छन् ।

 

९५ प्रतिशत रेलको लिकं सुरुङमार्ग र पुलमाथि बनाईने छ । बाँकी ५ प्रतिशत सतहमा रहने छ । यो रेलमार्ग निर्माणका लागि २ खर्ब ५६ अर्व लाग्ने प्रि फिजिविलिटी रिपोर्टले देखाएको छ । यो बैठकपछि गरिने विस्तृत अध्ययन अझै गहिराईमा हुनेछ भने नेपाल–चीन रेलमार्गको सम्भाव्यताको विषय टुङगोमा पुग्ने विश्वास गरिएको छ ।

 

नेपाल–चीन रेलमार्ग सहयोग सम्बन्धी हालसम्म दुई देशबीच सन २०१७ मा पहिलो पटक र सन २०१८ मा दुईपटक छलफल भएको छ ।