राष्ट्रिय सभा निर्वाचन प्रचार आजसम्म

काठमाडौ,माघ ६।  यही माघ ९ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सोमबार रातिबाट सकिँदै छ ।

 

निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टाअगाडि अर्थात् माघ ६ गते सोमबार राति १२ः०० बजेदेखि मौन अवधि सुरु हुने भएकाले प्रचारप्रसार बन्द हुने छ ।

 

मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन ।

 

आयोगले मौन अवधिमा आचारसंहिता पूर्ण पालना गर्न गराउन सरोकारवालासँग अपिल पनि गरेको छ ।