विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता प्रयास गर्दै सरकार

काठमाडौं, फागुन २९ । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारी वार्ता टोलीले वार्ता प्रयास गरिरहेको छ। सरकारले खटाएको वार्ता टोली र प्रतिबन्धित पार्टीका प्रतिनिधिबीच केही महिनायता नै तीनपटक अनौपचारिक कुराकानी भइसकेको छ।

 

प्रतिबन्धित पार्टीसँग वार्ता गर्न एक वर्षअघि सरकारले पूर्वमन्त्री एवम्‌ नेकपा सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति गठन गरेको थियो। तर प्रतिबन्धित पार्टीले सरकारद्वारा पक्राउ गरिएका आफ्ना सवै नेतारकार्यकर्ता रिहाइ हुनुपर्ने पूर्वशर्त राखेपछि वार्ता अघि बढ्न सकेको थिएन।

 

यतिखेर भने उनै सांसद पाण्डेमार्फत वार्ताको पहल भइरहेको छ। स्रोतका अनुसार पाण्डेले करिब एक महिनाअघि प्रतिबन्धित पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ुविरहीु र दशैंताका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई भेटेका थिए। बाँस्तोला प्रतिबन्धित पार्टीका पाँच सचिवालय सदस्यमध्ये एक एवम्‌ पश्चिम कमाण्ड इञ्चार्ज हुन्‌। वार्ताका लागि पहल गरिरहेका पाण्डेले पनि प्रतिबन्धित पार्टीसँग आफू निरन्तर सम्पर्कमा रहेको, तर त्यो अनौपचारिक रहेको बताएका छन्‌।

 

‘चन्द समूहले सचिवालय सदस्य बाहेकसँग गरिएको कुराकानी पार्टीको आधिकारिक धारणा नहुने खबर पठाएपछि म त्यहीअनुसार नै वार्ता र संवादका लागि अनौपचारिक सम्पर्कमा छु, सरकारले पनि वार्ताबाट समाधान चाहेको छ’, उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराएरै प्रतिबन्धित पार्टीका नेतासँग अनौपचारिक सम्पर्क गरिरहेको छु।

 

२०७५ फागुन १० गते नख्खुस्थित एनसेल टावर र फागुन २४ गते वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट गराएपछि सरकारले व्यवस्थासँग असन्तुष्ट भनिएको नेकपामाथि प्रतिबन्ध लगाएको थियो। तर प्रतिबन्ध लागेको एक बर्ष भइसक्दा पनि प्रतिबन्धित पार्टीको गतिविधी न निस्तेज भएको छ, न त वार्ता नै भएको छ। प्रतिबन्धित पार्टीको गतिविधी नियन्त्रण गर्न सरकारले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई खटाएको छ।कान्तिपुर दैनिकमा खबर छ।