जबरजस्ती करणी गरेर फरार रहेका प्रतिवादी पक्राउ

काभ्रे, वैशाख १० । जबरजस्ती करणी मुद्दामा फरार रहेका ३ जना प्रतिवादीहरुलाई बुधबार बिहान प्रहरीले उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका १० थापागाउँ बस्ने मण्डनदेउपुर नगरपालिका ८ घर भएका १९ वर्षीय सविन गौतम, बनेपा नगरपालिका १० डेरा गरी बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ४ शेरा घर भएका १९ वर्षीय सविन दुलाल र पनौती नगरपालिका ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा रहेका छन् ।

 

उनीहरुले २०७६ असोज १३ गते १६ वर्षीया किशोरीलाई बा.५ च ३८४९ नम्बरको बलेरो गाडीमा राखी बनेपास्थित काभ्रे क्याम्पस भन्दा माथिको जंगलमा लगि जबरजस्ती करणी गरी फरार भएका थिए ।

 

वारदात पश्चात फरार रहेका उनीहरुको जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बनेपा नगरपालिका १० र पनौती नगरपालिका ५ स्थित आफ्नै वतनमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको बलेरो गाडी समेत प्रहरीले बरामद गरेको छ ।