विद्यालयतहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने

काठमाडौँ, वैशाख १३ । कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ । कतिपय विद्यालय भने नतिजा प्रकाश गरी विद्युतीय माध्यमबाट नयाँ शैक्षिक आरम्भ गरिसकेका छन् ।

 

शिक्षा तथा मानव विकास स्रोत केन्द्रले स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी विद्यालयले विद्यार्थीको नतिजा प्रकाशन गर्न जनाएको छ । निजी विद्यालयहरूले पनि आगामी वैशाख १९ गतेसम्म सबै विद्यार्थीको नतिजा प्रकाशन गर्ने निर्णयमा पुगेका छन् ।

 

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण वार्षिक परीक्षा छिटो सक्न निर्देशन दिएपछि विद्यालयहरुले गत चैत ५ गते कक्षा ९ सम्मको वार्षिक परीक्षा सकेका थिए । तर परीक्षा दिएका ती विद्यार्थीको नतिजा भने प्रकाशन हुन सकेको छैन । तर अव भने विद्युतीय या अन्य माध्यमको प्रयोग भए पनि विद्यार्थीको नतिजा दिइने भएको हो ।

 

केन्द्रका महानिर्देशक डा.तुलसी थपलियाले विद्यार्थीको सिकाइ उपलब्धि शिक्षकले प्रमाणित गर्ने र विद्यालयले प्रकाशित गर्न सक्ने चर्चा गर्दै अब विद्यालयहरूले अनुकूलता अनुसार नतिजा प्रकाशन सुरु गर्ने बताउनुभयो । प्रविधिका हिसावले सक्षम विद्यालयलहरूले भने नतिजा प्रकाशनका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइसकेको समेत पाइएको छ ।

 

केन्द्रका महानिर्देशक थपलियाले विद्यालयले विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर नतिजा प्रकाशन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयमा परीक्षा दिएका धेरै बालबालिका हाल विद्यालयको सम्पर्क भन्दा बाहिर हुन सक्ने भन्दै केन्द्रले त्यस्ता विद्यार्थीको खोजीमा समेत विद्यालय लाग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीका पुरीले चैत ५ गतेसम्म परीक्षा लिएका कक्षा ९ सम्मका विद्यार्थीको नतिजा वैशाख १९ सम्म सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनुभयो । विद्यार्थी तथा अभिभावकले विद्यालयमा आएर नतिजा प्रकाशनका बारेमा जानकारी लिन सक्ने अवस्था नभएकोले अनलाइन या अन्य माध्यमको प्रयोग गरेर नतिजाका बारेमा जानकारी दिइने उहाँको भनाइ छ ।

 

विद्यार्थीको नयाँ कक्षा सञ्चालनका लागि पनि नतिजा प्रकाशन गर्नुपर्ने जरुरी भएको अब यसमा विलम्व गर्न नहुने उहाँको भनाइ छ । जारी बन्दाबन्दी खोल्न तथा जनजीवन सामान्य हुन समय लिने तथा विद्यालयमा बालबालिका आएर नियमित कक्षा सञ्चालन गर्न अझै समय लिने आकलन गरिएकोले नयाँ तरिकाबाट अघि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यसका लागि प्रविधिमा विद्यार्थीको पहुँचका बारेमा अध्ययन गरी छिट्टै विद्युतीय माध्यमबाट पढाउने गृहकार्य भइरहेको जनाइएको छ ।गोरखापत्र दैनिकमा खबर छ।