क्रान्तिकारी माओवादी सम्बद्ध जबस मोर्चाले गरे एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं,जेठ २१ । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय तथा जातीय मोर्चाको संयुक्त आयोजनामा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । राष्ट्रघाती एमसीसी खारेज गर, जनता के चाहन्छ स्वाधीनता र समानता, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, दलाल ओली सरकार मुर्दावाद लगायत नाराहरुसहित गरिएको विरोध प्रदर्शनमा सयौ जबस मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनका क्रममा कोणसभा समेत सम्पन्न भएको छ । कोणसभालाई अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा.जगदीश चन्द्र भण्डारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सना, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, अनेमसंघ (क्रान्तिकारी)कि महासचिव शारदा महत, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

 

क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले सञ्चालन गरेको कोणसभामा वक्ताहरुले एमसीसी संसदबाट पास गरिए नेपाल अमेरिकी साम्राज्यवादको रणमैदानमा परिणत हुने र नेपालको सार्वभौमिकतामाथि गम्भीर आँच आउने भन्दै एमसीसी खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।