११ दलीय मोर्चाले कोरोना नियन्त्रणलगायतका ९ बुँदे माग राख्दै माग पूरा नभए कडा संघर्षमा उत्रने चेतावनी

काठमाडौं,भदौ ११। नेकपा (क्रान्तिकारी माओवादी) लगायतका ११ दलले राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका विषयमा संघर्ष गर्दै आएको ११ दलीय मोर्चाले ९ बुँदे माग अगाडि सार्दै माग पूरा नभए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । बिहीबार ११ दलीय मोर्चाले संयुक्त वक्तव्य जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), सीपी मैनाली नेतृत्वको नेकपा (माले), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको नेकपा (माके), सुभासराज काफ्ले नेतृत्वको जनसमाजवादी नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद नेपाल, नेकपा (संयुक्त), गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मञ्चलगायतको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा नौं बुँदे निर्णय तथा माग प्रस्तुत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,

१. कोभिड– १९ को विषयमा स: १० कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि हामीले, अन्य पार्टीले र स्वास्थ्य सम्बन्धी विज्ञहरुले दिएका सुझावहरुलाई सरकारले उपेक्षा गरेकै परिणामस्वरुप आज राजधानी लगायत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारीको रुप लिएको छ । यस स्थितिमा निम्न अनुसारका कामलाई अविलम्ब लागु गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं : १) कन्ट्याक्ट टेसिङ र परीक्षणको कामलाई व्यापकता र तीब्रता दिने, २) कोरोना भाइरसको उपचार सबैलाई निशुल्क गराउने, ३) संक्रमित सबैलाई मापदण्ड अनुसारको आइसोलेसनको तुरुन्त व्यवस्था गर्ने, ४) होमआइसोलेसनमा बस्नेका लागि औषधी, चिकित्सक र नर्सको व्यवस्था गर्ने, ५) आइ.सी.यु.तथा भेण्टिलेटरको प्राविधिकसहित पर्याप्त मात्रामा व्यवस्था गर्ने, ६) विदेशबाट आउनेहरु सबैलाई क्वारेण्टाइन र आइसोलेसनमा राखेर मात्र घर पठाउने, ७)विदेशमाअलपत्र परेका नेपालीहरुलाई उद्दार गरि सरकारी खर्चमा देशभित्र ल्याउने व्यवस्था गर्ने ।

२.श्रमिक र विपन्नहरुको व्यवस्थापनबारे : कोरोना भाइरस महामारीका रुपमा फैलिएको हुनाले सरकारले धेरै जसो जिल्लामा निषेधाज्ञा लागु गरेको छ । यसबाट श्रमिकहरुले काम गर्न नपाएर परिवारहरुको विचल्ली भएकोले उनीहरुको अविलम्ब बस्ने, खाने व्यवस्था गरियोस् । यसका साथै आय नभएका र विचल्लीमा परेका विद्यार्थीहरुको समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तुरुन्तै नियन्त्रण गरी भ्रष्टाचारीहरुमाथि कारवाही गरियोस्।

३. खाद्यान्न, तरकारी र दैनिकउपभोग्य वस्तुहरुको असीमित रुपमामूल्य बृद्धि गरिएको छ । यसमाथि नियन्त्रण कायम गरी सर्व सुलभ गराइयोस् । तरकारी बजारमा स्वास्थ सम्वन्धी नियमलाई कडाईपूर्वक पालना गराइयोस् ।

४. समयमा वर्षा हुनाको कारण यस वर्ष ९७ प्रतिशत जमिनमा रोपाईं हुनु खुसिको कुरा हो । तर समयमा रासायनिक मलको अभावका कारण किसानको लगानी समेत गुम्ने खतरा भएको हुनाले किसानहरुलाई सुपथ र कममूल्यमा रासायनिक मल स्थानीय रुपमा अविलम्ब उपलव्ध गराइयोस् ।

५. सरकारका महत्वपूर्ण निकायमा भएका बदनाम र बिवादास्पद बिचौलियाहरुको र वरिष्ठ मन्त्रीका अयोग्य नातेदारहरुको नियुक्ति खारेज गरियोस् । अब आइन्दा यसप्रकारका कृयाकलाप नगरियोस् ।

 

६. नेपालको भूभाग सहितको नक्शा जारी गर्नु सकारात्मक काम हो । उपरोक्त भूभाग माथि दावी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपाली सेनालाई सिमानामा तैनाथ गर्ने, भारतसँगको सिमानामा तारवार लगाउने जस्ता कामहरुलाई अविलम्ब अघि बढाइयोस् ।

७. अमेरिकी सरकारको एम.सी.सी.सँग विगतमा गरिएका सम्झौता खारेज गरियोस् ।

८.बाढी पहिरोले किसानको जनधनको ठूलो क्षतिभएकोमा हामी त्यस प्रति गहिरो चिन्ता ब्यक्त गर्दछौं र सरकारले पीडित र बिचल्लीमा परेका बाढी पहिरो पीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने ब्यबस्था तदारुकताका साथ मिलाईओस् भन्ने जोडदार मागगर्दछौं र जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाइयोस् भन्ने माग गर्दछौ ।

९. कृषिमा मलको अत्यन्त अभाव भएको हुनाले त्यसबाट कृषि उत्पादनमा ठूलो क्षती पुग्ने खतरा देखिएको छ। त्यसकारण रासायनिक मलको शिघ्र पूर्तीको व्यवस्था गर्नको लागि माग गर्दछौँ ।हामीले शान्तिपूर्ण रुपमा राखेका मागहरुलाई अविलम्ब पुरा गरियोस् भनी सरकार समक्ष प्रस्तुत गरेका छौं । अन्यथा हामी कडा संघर्षमा उत्रन वाध्य हुने कुरा पनि जानकारी गराउन चाहन्छौं।