हाम्रै अटेरीले संक्रमण तीव्र : उपत्यकामा फैलिने क्रम अत्यास लाग्दो !

काठमाडौं,असोज २३। दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्।

 

एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा संक्रमण दर रहेको छ। यो अवधिमा उपत्यकामा हालसम्म १ सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

 

दैनिक बढ्दो संक्रमणको कारण उपत्यकाका कोभिड अस्पताल र उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुने स्थिति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

‘यही दरमा वृद्धि हुने हो भने केही दिनमै बिरामीले उपचार नपाउने स्थिति आउन सक्छ,’ मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले भने।

 

तीव्र संक्रमण बढेपछि स्वास्थ्य विज्ञहरुले सरकारलाई केही अवधिको लागि लकडाउन गर्न सुझावसमेत दिइसकेका छन्। ‘विज्ञहरुले सुझाव दिइसकेका छन्, तर लकडाउन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयको हैन,’ उनले भने।

 

दैनिक संक्रमण तीव्र गतिमा बढ्दै जानुमा हाम्रै अटेरी व्यवहार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बताए।

 

हाम्रै अटेरीले तीव्र संक्रमण बढिरहेको छ, हामीले स्वास्थ्य सुरक्षाको उपाय अपनाएका छैनौं,’ उनले भने। उनले दैनिक स्वास्थ्य सुरक्षामा मापदण्डप अपनाउन अनुरोध गरिरहेका छन्।

 

तर उनले भने जस्तो सबै नागरिकले पालना गरेको नदेखिएको शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान संयोजक डा। शेरबहादुर पुनले बताए।

 

डा। पुनका अनुसार सुरक्षा मापदण्ड ५० प्रतिशत मात्र पालना भएको देखिन्छ।। सबैले यी उपाय व्यवहारमा नउतारेसम्म लकडाउनले स्थायी समाधान दिँदैन।

 

‘लकडाउनकै बेलामा प्रहरीको आँखा छल्न मास्क लगाउने, प्रहरी गएपछि मास्क फुकाल्ने धेरै भेटिए,’ उनले भने। पुनले अहिले इन्द्रचोकमा गएर हेर्दा लाहपरवाही प्रष्ट देखिने बताए।

 

अहिले हात नमिलाउने र नमिलाएरै भए पनि मास्क लगाउनेहरु बढेका छन्। तर सुरक्षामा सबै मापदण्ड पालना गराउन सरकारले मात्र नसक्ने उनले बताए।

 

औषधि र खोप दुवै नबनेको अवधिमा सरकार, नागरिक र सबै राजनीति दल मिलेर मात्र कोरोना नियन्त्रणमा ल्याउन सकिने पुनको विश्लेषण छ।

 

‘सरकारले भनिरहेको कुरा नागरिकले बुझेनन् या सरकारले बुझाउन सकेन,’ उनले भने। संक्रमण तीव्र फैलिसकेको अवस्थामा सबै मिलेर सरकारको सन्देश हरेक नागरिकलाई अनुभूति हुने गरी बुझाउने अभियान हुनुपर्ने उनको सुझाव छ।

 

कोभिड संक्रमित सवैलाई आइसियु नचाहिने भएकाले अक्सिजनको उचित व्यवस्थापन गरेर लक्षणअनुसारको उपचार गर्न दिन सकेमा धेरैलाई बचाउन सकिने पुनले बताए।

४३६४ नयाँ संक्रमित

बिहीबार देशभरिमा ४ हजार ३ सय ६४ जना संक्रमित थपिएकमा छन्। यो संख्या अहिलेसम्मकै उच्च हो। थपसहित नेपालमा कुल कोरोना संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको छ।

 

यस दिन काठमाडौं उपत्यकामा मात्र २ हजार ८५ जना, ललितपुरमा ३ सय २० जना र भक्तपुरमा १ सय ३५ जना संक्रमित पुष्टि भएका हुन्। उपत्यकाबाहिर रुपन्देही, सुर्खेत, मोरङमा धेरै संख्यामा संक्रमण पुष्टि भएको छ।

 

कुल संक्रमितमध्येमा हालसम्म ५ सय ९० जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ। थप १२ जनाको मृत्यु भएको हो। हाल नेपालभरिमा २६ हजार ६ सय ८४ सकृय संक्रमित छन्।

 

तीमध्येमा १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा र ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेसनमा छन्। जटिल लक्षण भएका २ सय ३५ जनाको आइसियु र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

 

संक्रमण दरमा तीव्र वृद्धि हुँदै गएपछि मन्त्रालयका प्रवक्ता गौतमले दसैंमा मन्दिरमा पुजारीले मात्र पूजा गर्न अनुरोध गरेका छन्।

 

दसंैमा लिंगे र रोटे पिङ नहाल्न, सामान किन्न भीडभाड नगर्न आग्रह गरेका छन्। यस्ता गतिविधि नगर्दा भीड कम हुने र कोरोना संक्रमण नहुने गौतमले बताए।नागरिकबाट