नेकपा विवाद: दुईमध्ये एक पद छाड्नैपर्ने ‘बटमलाइन, संयुक्त दस्तावेज ल्याउन ओलीको प्रस्ताव

काठमाडौं,मंसिर १९। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने ‘बटमलाइन’ अघि सारिएको छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन्।

 

सरकार सञ्चालन गर्ने कि पार्टी सञ्चालन गर्ने भन्नेबारे दुई अध्यक्षबीच विवाद भइरहेका बेला अध्यक्ष दाहालले आफूनिकट नेताहरूसँगको छलफलमा ओलीले सकेसम्म प्रधानमन्त्री नभए अध्यक्ष छाड्नुपर्ने बताएको स्रोतको दाबी छ।

 

‘दुईमध्ये एक पद छाड्नुपर्ने विषय धेरै पहिलादेखि वरिष्ठ नेता माधव नेपालले उठाउँदै आएका थिए। अहिले दाहालले पनि यही विषयलाई बटमलाइन बनाउन थालेका छन्,’ दाहालनिकट स्रोतले भन्यो, ‘यो विषय पुरानो हो तर अहिले पनि निकै जोडतोडका साथ उठाइएको छ।

 

दाहालनिकट नेताहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले केही दिनयता ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्। तर ओली भने दुवै पद छाड्ने पक्षमा छैनन्।

 

उनले प्रधानमन्त्री पद लिन निर्वाचन कुर्न र अध्यक्षको पद लिन महाधिवेशन कुर्न भनिसकेका छन्। चार महिनापछि हुने पार्टीको महाधिवेशनले अध्यक्षको पद निर्धारण गर्ने र आगामी निर्वाचनले प्रधानमन्त्रीको पद निर्धारण गर्ने भएकाले त्यतिबेलासम्म धैर्य गर्न ओलीले भनेका हुन्।

 

अर्कोपटक अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा आफू नहुने भएकाले त्यसका लागि निर्वाचन र महाधिवेशन कुर्नुपर्ने ओलीका भनाइ छ।दाहाल–नेपाल समूहले भने ओलीले पटकपटक धोका दिएको, हेपेको र पार्टीलाई विधि र पद्धतिमा सञ्चालन नगरेकाले अहिले दुईमध्ये एक पद छाड्न दबाब दिएको बताउँदै आएका छन्।

 

दाहालनिकट रहेका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि ओलीले दुईमध्ये एक पद छाडे मात्र निकास निस्कने बताएका छन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधिअनुसार सञ्चालन गर्न सक्नुभएन।

 

उहाँ प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ। अध्यक्ष हुने भए प्रधानमन्त्री छाडेर एक पद मात्रै लिनुपर्छ। अब ओलीसँग सम्झौता यी दुई विषयमा मात्र हुन्छ,’ स्थायी कमिटी सदस्य पौडेलले भने। उनले पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने बताए।

पार्टी विवादलाई स्थायी कमिटीमा ल्याएर निरूपण गर्नुपर्ने धारणा पनि उनको थियो। वरिष्ठ नेता माधवकुमार नेपालले यो विषयमा धेरै अघि बहस छलफल गर्दै आए पनि ओझेलमा परेको थियो।

 

केपी शर्मा ओलीले प्रधानमन्त्री छाडे माधव नेपालले आफूलाई समर्थन गर्ने भएकाले पनि पुष्पकमल दाहालले ‘एक पद एक व्यक्ति’को विषयलाई जोडतोडका साथ उठाएको खुमलटारनिकट स्रोतको दाबी छ।

अहिले दाहाल पनि यही विषयलाई बटमलाइन बनाउने पक्षमा रहेको खुमलटारनिकट स्रोतले भन्यो। ओलीले प्रधानमन्त्री छाडे माधव नेपालले आफूलाई समर्थन गर्ने भएकाले पनि दाहालले एक पद एक व्यक्तिको विषयलाई जोडतोडका साथ उठाएको खुमलटारनिकट स्रोतको दाबी छ।

 

‘वरिष्ठ नेता माधव नेपालले यसअघि तेस्रो अध्यक्ष अस्वीकार गरेको र प्रधानमन्त्री पनि नहुने भनेपछि ओलीले प्रधानमन्त्री पद छाडे आफू प्रधानमन्त्री हुन सकिने सोझो आँकलन दाहालको छ,’ नेकपा स्रोतले भन्यो।

 

स्रोतका अनुसार यसअघि दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई आग्रह नै गरेका थिए। दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको प्रतिवेदनमा पनि ओलीले त्याग गर्नुपर्ने विषय उठान गरेका छन्।

संयुक्त दस्तावेजको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २६ गते स्थायी कमिटी बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने र दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन फिर्ता गरी दुवै अध्यक्षको संयुक्त दस्तावेज ल्याउन प्रस्ताव गरेका छन्।

 

खुमलटारका बिहीबार बिहान महासचिव विष्णु पौडेलले सो प्रस्ताव गरे पनि दाहालले आफ्नो प्रतिवेदन फिर्ता गर्न रुचि देखाएनन्। उनले यो विषयम ओली नै लचिलो हुनुपर्ने धारणा राखेका थिए। तर कस्तो प्रकारको लचकता भन्नेबारे केही खुलाएनन्।

 

‘भदौ २६ गतेको निर्णय कार्यान्वयन गर्ने भनेको पार्टीको निर्णय कार्यान्वयन हो तर यो विषयमा दाहालको रुचि देखिएन। उहाँले आफ्नो प्रतिवेदन फिर्ता गरेर संयुक्त दस्तावेज पनि फिर्ता गर्ने रुचि देखाएनन् यसले ओली लचिलो भए पनि दाहाल लचिलो भएको संकेत छैन,’ नेकपा स्रोतले भन्यो।

 

ओलीले दाहालको प्रस्तावले आफ्नो समग्र राजनीतिक जीवनमै नकरात्मक असर गर्ने भएकाले सो प्रस्ताव फिर्ता लिने वा खारेज गरेर नयाँ संयुक्त प्रस्ताव ल्याउनुपर्ने सन्देश पठाएको भए पनि दाहालले ओलीको जवाफमा पुनः अर्को जवाफ दिने तयारी गरेको बताएका थिए।

 

‘सचिवालय बैठकमा जसरी उहाँले ३८ पाने जवाफ लेख्नुभएको छ, म त्यसको पनि जवाफ तयार पार्दै छु,’ दाहालले महासचिव पौडेलसँग भनेका थिए।

 

बिहीबार नै महासचिव पौडेल खुलमटारबाट फर्केपछि स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि खुमलटार पुगेका थिए।

 

स्थायी कमिटी सदस्य नेम्वाङले दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको र सहमति गरेर पार्टी सञ्चालन गर्नुको कुनै विकल्प नभएको बताएका थिए।

अध्यक्षलाई भेट्न खुमलटार गएको थिएँ, पार्टी विवादबारे सामान्य छलफल भयो। भोलितिर अलि विस्तृतमै छलफल होला,’ स्थायी कमिटी सदस्य नेम्वाङले भने।

राष्ट्रपति फेरि सक्रिय

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद बढेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता फेरि बढेको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच लिखित रूपमै आरोपप्रत्यारोप चलिरहेका बेला राष्ट्रपति भण्डारीले विवाद समाधानका लागि सक्रियता बढाएकी हुन्।

 

राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाललाई शीतल निवास बोलाएर नेकपाभित्रको विवादका विषयमा छलफल गरेकी छन्।

 

प्रधानमन्त्रीसँग भेटलगत्तै राष्ट्रपति भण्डारीले दाहालसँग छलफल गरेकी छन्। पार्टीभित्रको विवाद आपसी सहमतिमा समाधान खोज्न आग्रह गर्दै पार्टी विभाजन हुनबाट जोगाउन आग्रह गरेको स्रोतको दाबी छ।

 

राष्ट्रपति भण्डारीकी प्रेस विज्ञ टिका ढकालले मुलुकको राष्ट्र प्रमुख र सरकार प्रमुखको भेट नियमित भएको बताए। मन्त्रिपरिषद् बैठक अघि वा पछि राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल र भेटघाट हुने गरेको र सोही क्रममा बिहीबार पनि भेट भएको राष्ट्रपतिको प्रेस विज्ञ ढकालले बताए।

 

तर, दाहालसँगको भेटबारे आफुलाई जानकारी नभएको बताउँदै उनले भने, ‘मैले पनि त्यही सुन्दैछु। तर पूर्व प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दलका अध्यक्षले राष्ट्रपति भेट्छु भन्दा भेट नपाउने कुरा हुँदैन।नागरिक दैनिकबाट,