प्रचण्ड–नेपाल पक्ष नेकपाको स्थायी कमिटी बैठक बन्यो अन्तिम,एमाले र माओवादी केन्द्रमा भए अलग-अलग

काठमाडौं,फागुन २४। सर्वोच्च अदालतको फैसला अनुसार अन्तत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग भएको छ। नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले एकीकरणअघिकै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा अलग्गिने निर्णय गरेको हो।

 

साविक नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको उनले बताए।

 

बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने,गम्भीर असहमति (फैसलाप्रति) हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएको छ। नेकपाको बैठक यो अन्तिम हो। तर वाम एकता जारी नै राखिने श्रेष्ठले बताएका छन्।

  भनाइ जस्ताको तेस्तै

सर्वोच्चले गरेको फैसला रिट निवेदनको मागदाबीभन्दा बढी गएर राजनीतिक फैसला गर्‍यो। बाहिर गएर फैसला गरिएको छ। एकीकृत पार्टीलाई विभाजन गर्ने गरी आयो। गम्भीर असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने निर्णय गरिएको छ।

 

 
राजनीतिक रूपमा र कानुनी ढंगले उपचार खोज्ने, संघर्ष गर्ने। २०७५ जेठ ३ गते एकीकरण गरी निर्माण गरिएको नेकपाको उद्देश्यमा गम्भीर रुपमा उभिने निर्णय पनि गरेको छ। पार्टी एकता सही थियो भनेर समीक्षा गरेका छौं।

 

वामपन्थी एकता जारी राख्छौं। सर्वोच्च अदालतको फैसलाप्रति न्यायिक निरूपणका लागि जाने। नेकपाको बैठक यही नै अन्तिम हो।

 

दुई पार्टीको बीचमा एकीकरणको प्रक्रिया अघि बढाउँछौं। निर्वाचन आयोगमा गएर कार्यान्वयनका लागि हिजोको फैसलापछि उहाँले राजीनामा दिनुपर्ने हुन्छ, त्यसबारे आवश्यकताअनुसार फैसला गछौं।

ठोस प्रक्रिया अगाडि बढाउनेबारेमा छलफल गछौं। अरु प्रक्रियाको बारेमा आफ्नोआफ्नो ठाउँबाट छलफल गरिन्छ।