शेयर बजारमा आज पनि पहिरो, लगानीकर्तामा निराशा

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार शेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ७६ दशमलव ३० अंकले घटेर दुई हजार ६०९ दशमलव ११ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

 

 

आज २१८ कम्पनीको एक करोड तीन लाख ३४ हजार ८२८ कित्ता शेयर कारोबार हुँदा कुल पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १८९ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

 

आज सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा धेरै ओरालो लाग्ने उपसमूहको सूचकमा फाइनान्स रहेको छ । फाइनान्स उपसमूहको सूचकमा सात प्रतिशतको गिरावट आएको छ ।

 

 

त्यस्तै, हाइड्रोपावर र लगानी समूहको उपसूचकमा ४ प्रतिशतको गिरावट आएको छ । बाँकी सबै समूहको उपसूचक एकदेखि तीन प्रतिशतसम्मले ओरालो लागेका छन् ।

 

 

आज सबैभन्दा धेरै कारोबार गर्नेमा कुमारी बैंक रहेको छ । बैंकको आज १८ करोड ८२ लाख २७ हजार २९६ दशमलव ८० रुपैयाँको कारोबार भएको छ ।

 

 

त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन् । लघुवित्त १५९ दशमलव ३० अंकले फाइदामा गएको छ । आजका लागि यसको सेयर मूल्य प्रतिकित्ता एक हजार ७५३ रुपैयाँ कायम भएको छ ।

 

 

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ता रहेका छन् । कम्पनी –५१ अंकले घाटामा गएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५९ रुपैयाँ कायम छ ।