लागूऔषध बिक्री गर्ने नयाँ उपाय: चिया पसलबाट खैरो हिरोइन बिक्री गर्ने महिला पक्राउ

काठमाडौं। लागूऔषध सेवन तथा कारोबार गर्नेको संख्या बढ्दो भएकाले यसको व्यापार पनि मौलाइरहेको छ।

 

लागूऔषधको व्यापार मौलाइरहँदा कारोबारीमा संलग्नले तस्करी गर्ने र बिक्री गर्ने अनेक उपाय रच्ने गरेका छन्।

 

 

नयाँ उपाय अपनाउने क्रममा इटहरी प्रहरीले चिया पसलमार्फत लागूऔषध बिक्री गर्ने एक जना महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ।

 

 

इटहरी वडा नं. ४ कै पूर्व बस स्टेण्डको सडक नजिकै चिया पसल गर्दैै आएकी ६५ वर्षे तुलसा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

 

 

तेह्रथुम म्याङ्लुङ् घर भई केही वर्षदेखि इटहरीमा चिया पसल गर्दै आएकी श्रेष्ठले लागूऔषध खैरो हिरोईन बिक्री गर्दै आएको सूचना प्रहरी समक्ष पुग्यो।

 

 

 

 

प्रहरीले उनले लगाएको स्वीटर खोजतलास गर्दा प्याक गरेको एक ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ मिलिग्राम लागू औषध खैरो हिरोईन ब्राउन सुगर फेला परेको प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईले बताए।

 

 

 

 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले लामो समयदेखि लागूऔषध बिक्री गर्ने गरेको खुलेको छ।

 

 

अकै व्यक्तिले राख्न लगाएको भनेर दावी गरेपनि राख्न लगाउने व्यक्ति नखुलाउँदा र उनको शंकास्पद गतिविधीले गर्दा लामै समयदेखि लागूऔषध कारोबार गर्ने गरेको खुलेको छ,’ प्रहरी निरीक्षक भट्टराईले भने।

 

 

 

पछिल्लो दुई वर्ष यता इटहरीमा लागूऔषध कारोबारीमा एउटा उपाय महिलालाई प्रयोग गर्न थालिएको खुलेको थियो। चिया पसल सञ्चालन गरेर लागूऔषध कारोबार गर्ने उपाय अपनाएको यहाँको पहिलो घटना भएको प्रहरीको दावी छ।

 

 

पूर्वमा लागूऔषध कारोबार हुने मुख्य स्थान सीमावर्ती भारतीय बजार जोगवनी क्षेत्र नै हो। जोगवनीबाहेक सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन गरिएको प्रहरीले जनायो।

 

 

सुनसरी क्षेत्रको कुनै नाकामा प्रहरीको सक्रियता बढ्यो भने लागूऔषध कारोबारीले रुट परिवर्तन गर्छन्।

 

 

 

लागूऔषध प्रयोगकर्ताको हिसाबले सुनसरी काठमाडौंपछिको दोस्रो ठूलो जिल्लामा पर्छ। भारतका आसपासका शहरीकरण भएका क्षेत्र युवा प्रयोगकर्ताको संख्या बढ्दो छ।

 

 

 

गाउँघरमा पनि त्यसको असर पर्न थालेको छ। पूर्वका नयाँ शहरहरु पनि लागूऔषधको कारोवारस्थलका रुपमा उदाउन थालेको प्रहरीले जनाएको छ।नागरिकबाट,