युक्रेनको राजधानी प्रवेश गर्‍यो रुसी सेना, भीषण युद्ध जारी

काठमाडौं ।युक्रेनको राजधानी शहर किभमा शनिबार बिहानैदेखि युद्ध सुरु भएको छ ।रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेको आज तेस्रो दिन हो । शनिबार युक्रेनको सबै मुख्य शहरहरुमा विस्फोट भएका छन् ।

 

 

 

यसबीच युक्रेनले ३ सय रुसी सेना बोकेको दुईवटा विमानलाई खसाएको दाबी गरेको छ । यता, रुसी सैनिकले किभको विमानस्थलमा कब्जा गरिसकेको बताइएको छ ।

 

 

 

 

युक्रेनको राजधानी किभको सडकमा रुसी सेनासँग भिडन्त शुरु भएको सरकारलाई उद्धृत गर्दै युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । ‘हाम्रो शहरको सडकमा भिडन्त भइरहेको छ,’ समाचार एजेन्सीले जनाएको छ ।

 

 

 

 

समाचारमा सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन र झ्याल वा बरण्डामा ननिस्कन चेतावनी दिएको छ ।

 

 

 

यसैबीच किभबाट करिब ३५ किलोमिटर दक्षिणमा रहेको भासिल्किभ शहरका मेयरले अहिले शहरको मध्यभागमा भीषण युद्ध भइरहेको बताएकी छन् ।

 

 

 

 

युक्रेनको संसदको च्यानलसँगको कुराकानीमा मेयर नातालिया बालासिनोभिकले भनिन्, ‘शहर पूरै युद्धमय बनेको छ ।

 

 

 

उनले युद्धको क्रममा दुवैतर्फ ठूलो क्षति भएको उल्लेख गरेकी छिन् । उनले युक्रेनको सेनाका दुई सयभन्दा धेरै सैनिक घाइते भएको उल्लेख गरेकी छिन् ।