सरकारले सार्वजनिक यातायातको भाडा नबढाए आफै बढाउने व्यवसायीको चेतावनी

फाइल तस्वीर

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ।

 

 

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि पटक-पटक हुँदा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायी आफैले बढाउने चेतावनी दिनु भएको हो।

 

 

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारलाई दवाव दिँदै आएको छ ।

 

 

 

आइतबार महासंघका महासचिव सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए अनुसार सार्वजनिक यातायातको भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा समायोजन गर्ने बताउनुभयो ।

 

 

 

उहाँले महासंघको बैंठक बसेर यही फागुन २५ गतेसम्म सरकारले नयाँ भाडा समायोजन नगरे व्यवसायी आफैले भाडा बढाउने निर्णय गरि सकेको जानकारी दिनुभयो ।

 

 

 

यातायात व्यवसायीहरुले सरकारलाई भाडा समायोजन तथा मूल्य वृद्धि गर्न बारम्बार निवेदन गरे पनि सरकारले बेवास्ता गरिरहेको महासचिव सिटौलाको भनाई छ ।

 

 

 

उहाँले २५ गते भित्र सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजन नगरे सवारी साधन चल्न नसक्ने बताउनुभयो।

 

 

सिटौंलाले सरकारले यातायात व्यवसायीहरुको मागको सुनुवाई समेत नगरी नतमस्तक भएर बसेको तर्क गर्नुभयो ।

 

 

सार्वजनिक सवारी साधन तल्लो वर्गका जनताले उपयोग गर्ने भन्दै सिटौलाले १० अर्ब लगानी भएको क्षेत्र सरकारले समाप्त पार्न खोजेको दाबी गर्नुभयो ।

 

 

 

उहाँले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढेको भाडादारको अनुपातमा सार्वजनिक यातायातको पनि भाडा बढाउनुपर्ने माग गर्नुभयो ।

 

 

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण धेरै व्यवसायीहरुले मालवाहक सवारीसाधन ग्यारेजमा थन्काएर राख्न थालेको महासचिव सिटौलाले बताउनुभयो ।

 

 

पछिल्लो समय डिजल–पेट्रोलको मूल्य वृद्धि भएर नयाँ रेकर्ड कायम गर्ने थालेपछि यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।

 

 

 

सरकारले गत बिहीबार राति मात्रै पेट्रोल र डिजलमा ५–५ रुपैयाँ प्रतिलिटरका दरले मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ र डिजेल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ ।