विप्लव नेकपाको कालीकोटका नौ वडामा उम्मेदवारी

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कालीकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएकी छन् ।

 

 

बिसी उक्त पार्टीका केन्द्रीय सदस्य हुन् भने विक उक्त पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को भाइबुहारी रहेका छन् ।

 

 

 

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता भएको छ। उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य रहेका छन् ।

 

 

 

खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा तथा उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

 

 

 

 

पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी, उपाध्यक्षमा विनित सिंह तिरुवा, पलाता गाउँपालिकाको अध्यक्षमा पदम विक, महावै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमाको अध्यक्षमा रुपसिंह बोहोराको उम्मेदवारी दर्ता भएको छ ।

 

 

 

 

पार्टीको चुनावलाई उपभोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिवसमेत रहेका ऐडीले बताए। कालीकोट प्रवक्ता विश्वकर्माको गृह जिल्ला हो ।

 

 

सो पार्टीमा चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद रहँदै आएको थियो ।