साफ महिला च्याम्पियनसिप : उदघाटन खेलमा आज नेपाल र भुटान भिड्दै

काठमाडौं । दशरथ रंगशालमा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ।

 

 

आज भदौ २१ देखि असोज ३ गतेसम्म हुने च्याम्पियनसिपको उदघाटन खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्ने छ । यो खेल आज मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ ।

 

 

 

विश्व फुटबल महासंघ फिफाले पाकिस्तानमाथि झण्डै पाँच वर्ष र भारतमाथि दुई साताको निलम्बन फिर्ता लिएपछि दक्षिण एसियाका सातै टिमले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् ।

 

 

 

यस पटकको मुख्य विशेषता भनेको नेपालले लगातार दोस्रो पटक महिला साफ आयोजना गर्दै छ ।

 

 

च्याम्पियनसिप पहिलो पटक दशरथ रंगशालमा आयोजना हुँदैछ । सन् २०१९ मा भएको पाँचौ संस्करण विराटनगरमा खेलाइएको थियो ।

 

 

 

यस पटक नेपाललाई घरेलु मैदान र दर्शकअघि उपाधि जित्दै अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि खडेरी तोड्ने अवसर छ।

 

 

अघिल्ला प्रतियोगितामा जस्तै यस पटक पनि भारत र नेपाल उपाधिको मुख्य दाबेदारको रुपमा छन् । भारतले यसअघिका पाँचै संस्करणको उपाधि जितेको छ ।

 

 

 

नेपाल चार पटक उपविजेता बन्दा एक पटक सेमिफाइनलबाट बाहिरिएको थियो र पाँचै पटक भारतसँग नै पराजित भएको थियो । यस्तै बंगलादेश एक पटक फाइनल पुगेको थियो ।

 

 

 

 

दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा नेपालको प्रशिक्षण सम्हालेका कुमार थापाले तीन नयाँ खेलाडीसहित नेपाली टोली घोषणा गरेका छन् ।

 

 

 

गोल मेसिन’ सावित्रा भण्डारी चोटपछि पुनरागमन गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछिन् । नेपाली टिममा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले पहिलो पटक स्थान बनाएका छन् ।

 

 

 

नेपालले तेस्रो पटक घरेलु मैदानमा ठूलो प्रतियोगिता खेल्दैछ । सन् २०१९ मा मार्चमा भएको साफ च्याम्पियनसिप र २०१९ डिसेम्बरमा भएको १३औं साफ फाइनल नेपाल भारतसँग पराजित हुँदै उपविजेजता बनेको थियो ।

 

 

यस पटक भारतलाई नै हराएर पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य रहेको छ ।