शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ ।उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो ।

उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।

सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।