मतदाताको अन्तिम नामावली प्रकाशित,यस्तो छ आफ्नो नाम हेर्ने तरिका

काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल,उम्मेदवार तथा कार्यकर्ता प्रचारप्रसारमा जुटेका छन्।

हालै निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको नामावलीमा मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको नाम समावेश छ।

आयोगका अनुसार यसपटक देशभरबाट कूल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्, जसमा ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन्।

यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम सो सूचीमा छ कि छैन हेर्न सक्नुहुन्छ। यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ।

तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भएरनभएको हेर्न सक्नुहुन्छ।मतदाता नामावलीमा आफ्नो नाम हेर्न यहाँ क्लिक गर्नुहोस्।

यो लिङ्कमा गएर तपाईँले आफ्नो प्रदेश, जिल्ला, गाउँपालिका वा नगरपालिका, वडा नम्बर र मतदान केन्द्रको विवरण छानेपछि तपाईँको क्षेत्रमा भएका सबै मतदाताहरूको विवरण देखिनेछ।

तपाईँले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितको मतदाता परिचयपत्र देखिनेछ।

तपाईँले आफ्नो ठाउँको सही विवरण राखेको खण्डमा मतदाता परिचयपत्रको नमुना पनि हेर्न सक्नुहुन्छ।त्यसका लागि माथि उल्लेखित सबै विवरण भरेर नामावलीमा प्रवेश गर्नुहोस्।

त्यसपछि जन्ममिति वा नागरिकता नम्बर राख्नुहोस्। त्यसपछि क्याप्चा टाइप गरेर सब्मिटमा क्लिक गर्नुहोस्। यसरी तपाईँले आफ्नो मतदाता परिचयपत्रको नमुना हेर्न सक्नुहुन्छ।