यू–१९ क्रिकेट विश्वकपमा नेपाल छनोट

काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ। सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो।

१९२ रजको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सक्यो । यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८।५ ओभरमा अलआउट भएको हो।

नेपालका कप्तान देव खनालले ८४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान खनालले ३ चौका र १ छक्का प्रहार गरेका थिए। देवले ७५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।

विशाल विक्रम केसीले ५० बलमा ३८ रन बनाए। केसीले ५ चौका प्रहार गरेका थिए। उत्तम थापा ३६ रन बनाएर आउट भए। ६ ओभर १ बलमा ३ विकेट गुमाईसकेको नेपालका लागि थापा र कप्तान खनालले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए।

दिपेश कँडेलले १५ तथा हेमन्त धामीले १३ रन बनाए। नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका थिए। अर्का ओपनर अर्जुन कुमाल ३ तथा आकाश त्रिपाटी ९ रनमा आउट भएका छन्।

यूएईका लागि धुव्र पराशरले ३ तथा हरिस शेठ्ठी र आयान खानले समान २र२ विकेट लिए। हर्शित शेठ र अम्मर बदामीले समान १र१ विकेट लिएका छन्।