देउवा र ओली सम्पर्क बढाउँदै,होला त कांग्रेस एमालेको सहकार्य ?

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वसँग भेटवार्ताको लागि प्रयास गरेका छन्। एमाले नेतृत्वको गठबन्धनको टुटेर कांग्रेसको नेतृत्वमा आठ दलीय गठबन्धन बनेपछि एमाले सशंकित बनेको छ।

यो बीचमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ताको लागि प्रयत्न गरेका छन्।

कांग्रेस सभापति देउवासँग ओलीले भेटवार्ताको लागि प्रयास गरेपनि अहिले राष्टपतिको निर्वाचनअघि भेटवार्ता सम्भव नभएको कांग्रेस नेताहरुको दाबी छ।

राष्टपतिको निर्वाचनलाई लिएर प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीको सम्बन्ध चिसिएको छ।

सार्वजनिक कार्यक्रममै उनले माओवादी जनयुद्ध र यसको नेतृत्वकर्ता प्रचण्डमाथि कडा टिप्पणी गर्न थालेका छन्।राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

यो बीचमा कांग्रेससँग सहकार्य गर्न ओली तयार हुनुले राष्ट्रपतिको निर्वाचनमा कतै एमालेले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई वाकओभर त गर्न लागेको होईन?

भनेर प्रश्नपनि उठेको छ। माओवादी केन्द्रले संसदमा सानो संख्या हुँदापनि स्वार्थको राजनीति गरेको र सरकारको नेतृत्व गरेको भन्दै ओली रुष्ट छन्।

पछिल्लो समय ओलीले देउवासँग भेटवार्ता गरेर राष्ट्रपतिको निर्वाचनमार्फत नै दुई दलबीच सहकार्यको प्रस्ताव राख्न खोजेका छन्।तर, सभापति देउवा भने कुनैपनि हालतमा एमालेसँग सहकार्य गर्ने पक्षमा नपुगेको कांग्रेस नेताहरुको दाबी छ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि तत्काल कांग्रेसले कोर्स करेक्शन नगर्ने दाबी गर्छन्। उनले प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गर्ने गरेका छन्।