कर्णाली प्रदेशमा एमालेका मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं। कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन्।

एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका हुन्।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लगिसकेपछि मात्रै सरकारलाई पूर्णता दिएका थिए।

शर्मालाई पहिलो पट्क नेपाली कांग्रेसका १४ सांसद बाहेक अन्य माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १/१ गरि २५ संसदले विश्वासको मत दिएका थिए।

राप्रपाले गत फागुन १८ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लगेपछि चैत १७ गते दोस्रो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए । उनलाई दोस्रो पटकमा राप्रपा बाहेक अन्य सबै दलले विश्वासको मत दिएका थिए।

संघमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो।

गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो।

मुख्यमन्त्री शर्माले भने एमालेका ३ मन्त्रीलाई चाहेर पनि बर्खास्त गर्न सकिरहेका थिएनन्। अब एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ।