खाँणलाई हिरासतबाटै पाण्डेको यस्तो पत्र

फाइल तस्वीर

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी भएको आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतलाई पाँच कसुरमा मुद्दा दर्ता गरिएको हो।

उनीहरुविरुद्ध ठगी,संगठित अपराध,लिखत कीर्ते र राज्यविरुद्धको अपराध कसुरमा सजाय गर्न माग गरिएको छ।

३० जनाविरुद्ध मुद्दा दर्ता भएकोमा अहिले प्रहरी हिरासतमा १६ जना छन भने १४ जना अझैं फरार रहेका छन्। जिल्ला अदालत काठमाडौंमा अब थुनछेक बहस हुनेछ।

त्यसपछि अदालतले पूर्वपक्षका लागि थुनामा राख्ने,साधारण तारेखमा छाड्ने वा धरौटी लिएर छाड्ने भन्ने निर्णय गरेपछि मुद्दाको अन्तिम किनारा लगाउन अदालतमा बहस पैरवी हुनेछ। तर, अभियुक्तविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ।

सार्वजनिक ओहोदामा रहेकाहरुको हकमा यस्तो कुरा लागू हुने बताइएको छ। अभियोग पत्रमा प्रतिवादीहरू छुटेको अवस्थामा प्रहरीको जिम्मा लगाउन माग गरिएको छ।

खाँणलाई हिरासतबाटै पाण्डेको पत्रः बयान नफेरे‘

हिरासतमा रहेका तत्कालीन गृहसचिव टेकनायण पाण्डले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई दुई पत्र लेखेको पाइएको छ।

पाण्डेले खाँणलाई विचौलयाको बयान फेराउन आग्रह गरेका छन्। प्रहरीले खाँण र उनका स्वकिय सचिव नरेन्द्र केसीबाट बरामद गरेको पत्रमा यस्ता कुरा उल्लेख भएको दाबी प्रहरीको छ।

केसीमार्फत पाण्डेले पत्र पठाएका थिए। यहि पत्रमा पाण्डेले खाँणलाई भनेका छन्, ‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन ।

मन्त्रालयमा मन्त्री,सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला।यस्तै, ‘नरेन्द्रजी ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरूलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप नलिन सक्छ’,दोश्रो पत्रमा भनिएको छ। पाण्डेले पठाएका पत्रले पनि उनीहरुको यो प्रकरणमा संलग्नता पुष्टी हुने आधारहरु हुने प्रहरीको विश्वास छ।