समाजवादी प्रेस संगठनको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनबाट नेतृत्वमा पुनः टिकादत्त तिमिल्सिना निर्वाचित

प्रेम प्रसाद कडेल

चितवन। समाजवादी प्रेस संगठन नेपालको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रम भरतपुरमा भव्यताका साथ सम्पन्न भएको छ।

उक्त अधिवेशनले पुनः टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्य रहेको कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा रामु आचार्य र सरस्वती लामा, सचिव पूर्णबहादुर आले मगर (विशाल), कोषाध्यक्ष बबिलाल तामाङ्ग, सह- सचिव विजय चौधरी, सदस्यहरू उषा श्रेष्ठ, कविता गायक, सुरेश अधिकारी, अर्जुन चौधरी र एलिशा तिमिल्सिना चयन भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य हरी पराजुलीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गरे।

पराजुलीले अधिवेशनबाट निर्वाचित भएर आउने नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै देशको विषम परिस्थितिमा राज्यको चौथो अंगका रूपमा मुलुकमा विद्यमान अव्यवस्था, विकृति र भ्रष्टाचारका विरुद्ध पत्रकारका हकहितको मुद्दा एकजुट हुन सबै पत्रकार संगठनका पत्रकारहरुमा आव्हान गरे।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष राजेन्द्र आचार्यले कार्यक्रम सफलताको शुभकामना दिदै कडाइका साथ पत्रकार महासंघमा शुद्धीकरण गर्ने बताए।

प्रेस युनियन चितवनको उपाध्यक्ष प्रस्ताव सुवेदीले पत्रकार महासंघका शिर्ष नेताहरु बुटवलमा बसेर गरेको निर्णय अनुरुप हुनुपर्ने बताए।

कार्यक्रमका अतिथि क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रेम प्रसाद कडेलले नयाँ निर्वाचित समितिलाई अग्रिम शुभकामना व्यक्त गर्दै पार्टी संख्याले ठूलो र सानो नहुने बताउँदै विचारले सानो ठूलो हुने बताए।

सभ्य समाजको निर्माणको लागि नेपाल पत्रकार महासंघमा व्यापक सुधार र स्थानीय निकायमा मौलाएको भ्रष्टाचारको निर्मूल गर्न खोज पत्रकारिता आवश्यक रहेको बताए।

जनपत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपानेले पत्रकार शुद्धीकरणको ठोस र वैज्ञानिक आधार पुष्टि गर्न नेपाल पत्रकार महासंघलाई सुझाव दिदै श्रमजीवी पत्रकार र मिडिया हाउसका हितमा जोड दिन आग्रह गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हरी अधिकारी,जिल्ला अध्यक्ष अरुण पिडित भण्डारी,सचिव कुलप्रसाद लामिछाने, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष देउजा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष रामु आचार्य र स्वागत ज्ञानेन्द्र तामाङ्गले गरेका थिए।