बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने महिला टोलीको बिदाइ

फाइल तस्वीर

काठमाडौं । बंगलादेशसँग हुने दुई वटा मैत्रीपूर्ण खेल खेल्न जाने राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा कार्यक्रम गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीलाई जितका लागि शुभकामनासहित बिदाइ गरेका हुन्।

१९औं एसियन गेम्सको तयारीमा रहेको नेपाली महिला फुटबल टिमले जुलाई १३ र १६ तारिखमा बंगलादेशसँग ढाकामा दुई खेल खेल्ने छ।

गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र बंगलादेशबीच महिला फुटबल हुन लागेको हो।

साफ फाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो । यस पटक त्यो हारको बदला लिने लक्ष्यमा नेपाल छ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिनको प्रशिक्षणपछि प्रारम्भिक चरणमा बोलाइएका टोलीबाट मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका थिए।

नेपाली टोलीको व्यवस्थापकमा बिन्द्रा देवान छन् भने सहायक प्रशिक्षकमा पारस चौधरी तथा गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा छन् । नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गर्नेछ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेण्डर :अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला बिक, निशा थोकर, अञ्चली वाइबा, समिक्षा घिमिरे

मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा शाही

फरवार्ड : सावित्रा भण्डारी, सबिता राना मगर, रश्मिकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी।