सुदूरपश्चिममा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि आकाशियो,आत्मनिर्भरताको नारा कागजमै सीमित

सांकेतिक तस्वीर

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय पालिकाहरुले कृषि क्षेत्र लक्षित कार्यक्रम गर्दै आएका छन्। कृषिमा आत्मनिर्भर पालिकादेखि प्रदेश बनाउनेसम्मको अभियान सञ्चालन भए पनि कृषि तथा खाद्य पदार्थको मूल्य भने अकाशिएको छ।

धनगढीमा अहिले ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४६० रुपैयाँ पुगेको छ। लोकल कुखुराको मासु प्रतिकिलो ९५० रुपैयाँमा विक्री भइरहेको छ।

जिउँदो लोकल कुखुरा ७५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। अण्डा एक क्यारेटको मूल्य ४४० रुपैयाँ छ। मसिनो चामल प्रतिकिलो ११०, मोटो चामल प्रतिकिलो ८० रुपैयाँ पुगेको छ।

दुधको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ। खसीको मासु एक हजार २५०, बंगुरको मासु ४२०, माछा ४४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। यो मूल्यदर हालसम्मकै उच्च हो।

 अर्थशास्त्रको सामान्य नियमानुसार वस्तु तथा सेवाको माग बढ्दा मूल्य बढ्छ भने माग घट्दा मूल्य घट्छ। सुदूरपश्चिम प्रदेशमा कृषि उत्पादकत्वमा गिरावट आउँदा स्वाभाविक रुपमा मूल्यवृद्धि भएको अर्थशास्त्रीहरुको भनाइ छ।

 अर्थशास्त्री एवं कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्रवीर चन्दले सुदूरपश्चिममा मात्रै नभइ मुलुकभर मूल्यवृद्धि अकाशिएको बताए। उनले भने,वास्तवमा हाम्रो आन्तरिक उत्पादन नै भएन। जसको असरले मूल्यवृद्धिमा देखिएको हो।

 आर्थिक वर्षको अन्त्यमा पैसा बजारमा गएका कारण केही समयका लागि क्रयशक्ति बढाए पनि उत्पादकत्व नहुँदा पनि मूल्य बढेको उनको भनाइ छ।

यतिमात्रै होइन, यहाँ प्रवाह भएका ऋण पनि अनुपात्दक क्षेत्रमा बढी लगानी छ,उनले भने,अर्कोकुरा, बस्तु तथा सेवाको करमा हुने वृद्धिले पनि बजारमा असन्तुलन आएको देखिन्छ।सरकारी संयन्त्रले बजारमा प्रभावकारी रुपमा अनुगमन नगर्दा पनि कृत्रिम मूल्यवृद्धि हुने डा. चन्दले बताए।

सुदूरपश्चिम सरकारले ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’ अभियान अन्तर्गत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न, बिउ, दुध, मासु र अण्डामा आत्मनिर्भर गराउन सबै जिल्लामा कार्यक्रम सञ्चालन गरेको छ। तर योजना अनुसार काम हुन नसकेपछि त्यस्ता सामानको मूल्य बढेको हो।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पनि सुदूरपश्चिम सरकारले उत्पादनमूलक क्षेत्रमा सरकारी, निजी र सहकारी क्षेत्रको सहलगानी वृद्धि गरी समतामूलक आर्थिक विकासमार्फत ‘आत्मनिर्भरता उन्मुख समृद्ध सुदूरपश्चिम’को नारा दिइएको छ।