उमेर समूहको दक्षिण एसियाली फुटबल खेल तालिका सार्वजनिक

काठमाडौं । उमेर समूहको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनिक भएको छ।

दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालले यू–१६ को पहिलो खेल बंगलादेशसँग र यू–१९ को पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।

प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ। जसलाई दुई समूहमा विभाजन गरिएको छ । सार्वजनिक तालिका अनुसार यू–१६ मा नेपाल समूह ए मा परेको छ। जहाँ भारत र बंगलादेश छन्। यस्तै, यू–१९ मा नेपाल,माल्दिभ्स र पाकिस्तान सम्मिलित समूह ए मा परेको छ।

यू–१६ प्रतियोगिता भुटानको थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म हुदैछ भने यू–१९ प्रतियोगिता काठमाडौंमा सेप्टेम्बर २१ देखि ३० सम्म हुदैछ। यू–१६ मा सेप्टेम्बर २ मा बंगलादेशसँग खेल्ने नेपालले सेप्टेम्बर ५ मा भारतसँग खेल्नेछ।

यस्तै, यू–१९ मा सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्ने नेपालले सेप्टेम्बर २५ मा माल्दिभ्ससँग खेल्नेछ। साफले उमेर समुहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले उमेर समूहका प्रतियोगिता हरेक वर्ष सञ्चालन गर्दै आएको छ।नेपालले यस वर्ष साफ उमेर समूहको यू–१९ प्रतियोगिताको आयोजना गर्दैछ।