कृषि विकास बैंकको नाफा ४६ प्रतिशतले बढ्यो

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७७ करोड ३३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष बैंकको खुद नाफा ४५ दशमलव ९८ प्रतिशत बढी भएको हो।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ८९ करोड ९८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा भने गत वर्ष कम भएको छ। अघिल्लो वर्ष ३ अर्ब ५२ करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७१ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो।

गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज कम रहेको छ। अघिल्लो वर्ष ९९ करोड २७ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ९१ करोड ९१ लाख रूपैयाँभन्दा बढी रहेको छ।

सञ्चालन नाफा भने गत वर्ष २६ प्रतिशतभन्दा बढी रहेको छ। अघिल्लो वर्ष ३ अर्ब ६० करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ४ अर्ब ५४ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ।

२ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रूपैया रहेको बैंकको रिटेन्ड अर्निग ३ अर्ब ६० करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको छ।

जगेडा कोष रकम भने ११ अर्ब ७२ करोड ९७ लाख रूपैयाँभन्दा बढी कायम छ। बैंकले अघिल्लो वर्षभन्दा करिब २० प्रतिशत बढी १ खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने शून्य दशमलव ९३ प्रतिशत कम १ खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ।

निष्क्रिय कर्जा २ दशमलव शून्य ९ प्रतिशत रहेको अघिल्लो वर्ष गत वर्ष २ दशमलव ४८ प्रतिशत कायम भएको छ। प्रतिशेयर आम्दानी २० रूपैयाँ ६२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २११ रूपैयाँ ६० पैसा रहेको छ।